संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गरेका छन् ।

भारतीय अतिक्रमिक भूभााग लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गरेका हुन् ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको थियो भने प्रधानमन्त्री केपी ओलीले नयाँ नक्सा जारी गर्नुको कारण र संविधान संशोधनको औचित्यबारे प्रस्ट्याएका थिए ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधनको प्रस्ताव ९ जेठ गते संसदमा दर्ता गराएकी थिइन् ।

बालुवाटारमा भएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवाले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । 

यता मधेशवादी दलका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायतले भने संविधान संशोधन गर्दा मधेस र आदिवासी जनजातिका माग पनि सम्बोधन पनि समेट्न सरकारलाई सुझाव दिएका छन् भने मधेशवादी दलका नेता शरतसिंह भण्डारीले संविधान संशोधन सर्वसम्मत रुपमा अगाडि बढ्ने बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने–‘यो राष्ट्रियता र भौगोलिक अखण्डताको विषय हो, यसलाई सर्वसम्मत रुपमा अगाडि बढाउनुपर्छ । हामी हाम्रो एक इन्च भूमि छोड्ने बाला छैनौं । र, यसका लागि हुने संशोधनमा हामी कुनै बार्गेनिङ गर्दैनौं ।’

संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो ।

सरकारले ५ जेठमा नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुरमारी अर्यालले जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूभाग समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्