स्विकार गर्न सक्छौँ त मलाई ..



दिवाकर उप्रेती
काठमाडौं

यो त्यो दिनहरुको कुरा हो । जुन समाजले म दलित भएकै कारण मलाई गिज्यईरह्यो । मलाई मेरो अठोट साथै आत्मविश्वासको क्रन्दनले थिचिरह्यो । म, मेरो सम्भावना को निम्ति आफुलाई कर्ममा निखार्न निहत्या प्रयास गर्दै थिए । त्यो बेला जुनबेला एउटा युवा आफुलाई यो समाजमा स्थापित भएको देख्न खोज्छ । त्यो बेला जहाँ युवाले आफु किन भन्ने रहस्यमा खोज गर्छ । त्यो बेला जहाँ यो समाजले यो गर त्यो गर भनेर निर्दिष्ट गर्छ । त्यो बेला जब एउटा युवाले आफ्नो बेग्लै संसारको कल्पना गर्छ । ऊ आफ्नो व्यवहार र समाजलाई तौलिन खोज्छ । ऊ आफ्नो गृहस्थि तथा परिवारको खुसि को निम्ति सदैब आग्रपन्क्तिमा बसेर काम गर्छ । उसको चाहना भनेकै आफ्नो आँसु भित्र आफ्ना जस्ता सैयौ को खुसि समेट्नु हो । ऊ येति सम्म सरल भएको हुन्छ कि उसका लागि सबै आफ्ना र ऊ आरुको लागि पराई बन्दै गएको, ऊ स्वयमलाई पत्तो हुँदैन ।

येही समाजले स्थापित गरेको मान्यताको जालोमा आज म घेरिएको छु । बारम्बार थिचिएको छु । थिचिएको छु रोगहरुबाट, हारको रोदनबाट, संस्कृतिबाट, समाजको मुल्यमान्यता बाट, परम्पराबाट , परिस्थितिबाट । कस्तो अचम्म छ । यहाँ मेरो जन्ममा मेरो बुबालाई बधाई दिने मेरा कथाकथित मालिक आज मेरो हुर्काई र सफलतासंगै अहङ्कारी बनेको छ । किन भन्ने ? प्रश्न तेर्स्याउन मेरो जातले दिदैन । मेरो जातले त्यो दिनु न दिनुमा मेरो असन्तुष्टि होईन । मेरो असन्तुष्टि त, जातले न दिने भन्ने मुल्यमान्यता स्थापित गर्ने ति आकृतिरुपि मनुस संग छ । जसको मानसिकता नै काल्पनिक ताजमा आफ्नो राज गरिरहेका छ । गरिरहेको छ, मेरो जातको नाममा भद्दा मजाक, मेरो गरिवीको नाम बेचिरहेको छ । बेचिरहेको छ, मेरा भावनाहरूलाई, कुन्ठित गरिएको छ मेरो स्वतन्त्र विचार, मेरो हुर्काइ र प्रगति संगै प्रतिसोध साट्टन चलाइरहेका छन् वाणहरु ।

म सक्षम छैन । त्यस्को मुख्य कारण तिनै मुखियाहुन् जो मेरो जात भातको नाममा कुशल नेता बने । मेरो स्वतन्त्र उढि रहने पंखहरुमा करेन्ट लाए । मेरो गरिबि बेचे मेरो राज्यसंगको प्रत्यक्ष पहुँच खोसे । खोसे मेरा सम्वेदनाहरु, मेरो आँसु खोसे, अन्ततः म र मेरा जस्ताहरुको प्रेम खोसे । खोसे मेरा खुसियालीहरु । मेरो सबथोक खोस्दा खोस्दै म स्वयंलाई मेरो परिवार, नातेदार र मेरो संसार नै खोसेछन् । अब अझ म जस्ताहरुको के खोस्न बाँकी छ होला र ? अब त केहि दिन पत्रपत्रिकाको खबर रहनेछु होला । कसैको टि.आर.पि हुनेछु होला । तर मेरो न्याय निर्मला जस्तो नहोस् । मेरो जातको नाममा कथाकथितले राजनिति नगरुन । म र मेरा जस्ताको लागि सरकार नै रहेन छ । म जस्ता कहाँ गएर गुहार्ने ? आज आफैमा धिक्कार छ, म यो समाजको सदस्य भएकोमा । मलाई रत्तिभर सन्देह छैन ति किताबका पाठहरुमा जस्मा मेरो जात पो बेचिएको थियो । सिकाईको नाममा बिधालयमा म जस्ताहरु पानिको निम्ति घर ध्याउनु पर्थियो ।

बरु अब खाँचो छ परिवर्तनको । त्यस्तो परिवर्तनहरु जसले मेरो जातको , रंगको र समुदायको कुरा नगरोस् । मेरो गरिबि र मेरो झुप्रोलाई राजनितिकरण नगरोस् । गरोस् त संविधानमा लेखिएको शब्दहरूलाई पर्यायवाचीको साथ दिदै अधिकार सुनिश्चित गरोस् । प्रेम भएकै नाममा मारिएको भाईलाई न्याय दिइयोस् । दिइयोस् सजाय यस समाजका कुरुपतावादिहरु लाई । सद्भाब तथा अहिलेको न्यायिक परिधिलाई निश्पक्ष राखियोस् । युवालाई थप सचेतना तथा युवावस्थामा हुने मनोकांक्षाबारे परिवार र समाजले सिकाओस् । सिकाओस् दलित मानब हो, हामि जस्तै हो । समाजको सद्भाव बढाउनुकालागि अन्तरजातीय विवाह गर्ने छुट छ भन्ने सुचना फैलाओस् ।
अन्ततः म दलित भएकै कारण मलाई स्विकार गर्न त सिकाऔं ।

प्रतिक्रिया दिनुहोस्