प्रदेश २ः बुधबारसम्म ३ सय २४ संक्रमित



जनकपुरधाम– प्रदेश २ मा बुधबारसम्म १० हजार ५ सय ९९ जना व्यक्तिको थ्रोट स्वाब संकलन गरिएकोमा ३ सय २४ जना संक्रमित भएका छन् । भने ७ हजार ९ सय १५ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै २ हजार ३ सय ५० जनाको नतिजा आउन बाँकी रहेको छ ।

त्यस्तै आरडिटी तर्फ अहिलेसम्म ६ हजार २ सय ८७ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ६ हजार २ सय ६७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । यस प्रदेशमा संक्रमितको संख्या बढेसँगै स्वाब संकलनको दायरा समेत बढाइएको छ । जसअन्तर्गत आज (बुधबार) मात्रै ७ सय ४३ जनाको स्वाब संकलन गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

प्रदेशमा संक्रमित ३ सय २४ मध्ये ९४ जना पर्साका,१ सय ६ जना रौतहटका,४९ जना बाराका, १२ जना धनुषाका,६ जना महोत्तरीका,३४ जना सर्लाहीका,८ जना सिरहाका र १५ जना सप्तरीका व्यक्ति छन् ।

प्रदेश २ को बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १६ हजार ९ सय १४ बेड क्षमताको ३ सय १ वटा क्वारेन्टाइनमा अहिले १३ हजार ४ सय २ जनालाई राखिएको छ भने ४ हजार ९ सय ३ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ६ सय ४५ बेड क्षमताको आईसोलेशनमा २ सय ३ जना शंकास्पद बिरामीलाई भर्ना गरिएको सचिव घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्