सीके राउत समूहका केन्द्रीय सहसंयोजक परासीबाट पक्राउ 



परासी : स्वतन्त्र मधेस गठबन्धन (सीके राउत समूह) का उपसंयोजक कैलाश महतोलाई पश्चिम नवलपरासीको परासीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

शनिबार बेलुका सदरमुकामस्थित बुद्धचोकमा भाषण गरिरहेको अवस्थामा महतोलगायत २४ जना नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

पक्राउ परेकामध्ये सामान्य कार्यकर्तालाई शनिबार बेलुका नै छाडे पनि केन्द्रीय सहसंयोजक महतो र जिल्ला संयोजक श्रीकृष्ण यादवलाई भने मुद्दा चलाइएको छ । महोत्तरी जिल्ला स्थायी घर भएका महतो लामो समयदेखि परासीमा अध्यापन पेसामा आबद्ध थिए । अध्यापनपछि केही वर्षयता उनी मधेसकेन्द्रित दलको राजनीतिमा सक्रिय थिए ।

 

स्वतन्त्र मधेस गठबन्धन गठन भएपछि उनी सक्रियरुपमा यस्मा लाग्दै आएको र सीके राउतपछि संगठनमा दोस्रो तहको नेता रहेको प्रहरीको दाबी छ । महतो माथि राष्ट्रिय अखण्डतामा खलबल पुऱ्याउने अभिव्यक्ति दिएको आरोप लगाउँदै ‘राज्यविरुद्धको कसुर’ अन्तर्गत मुद्दा चलाइएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्