सरकार शिक्षाको जिम्मेवारीबाट भाग्न खोजेको नेता पराजुलीको आरोप



काठमाडौं : अनेरास्ववियूका नेता सुदेश पराजुलीले सरकार शिक्षाको जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

नेता पराजुलीले आर्थिक बर्ष २०७७–७८ को बजेटले शिक्षाको क्षेत्रलाई संविधानमा उल्लेख भए बमोजिम सम्बोधन गर्न नसकेको बताएका हुन् ।

उनले बजेट समग्रमा सकारात्मक भएको उल्लेख गर्दै संविधानमा मौलिक हकको रुपमा रहेको शिक्षा क्षेत्रमा भने सरकारले जिम्मेवारीबाट पन्छिन खोजेको बताए ।

उनले भने, ‘बजेटले नागरिकको मौलिक हकलाई चुनौति दिएको छ । हाम्रो संविधानले शिक्षालाई मौलिक हकको रुपमा स्पष्ट किटान गरेको छ । बजेटले यसको कार्यान्वयनमा जोड दिनुपर्नेहुन्छ । शिक्षा राज्यको दायित्व हो । शैक्षिक संस्था खोल्ने र रातरात धनी हुने, शिक्षाको व्यापारबाट अपार हुनेहरुलाई नियन्त्रण गर्नैपर्दछ ।’

उनले बजेटमा निजी विद्यालयलाई सामुुदायिक विद्यालय सुधारको जिम्मेवारी दिने घोषणा गर्नु अनुचित भएको बताए ।

उनले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै प्रश्न गरे, ‘यो घोषणा हाम्रो संविधानले निर्देशन गरेको कुरासँग कहाँ मेल खान्छ ? के राज्य शिक्षाको दायित्वबाट बाहिर जान खोजेको हो ? बजेटमा उल्लेख यो बुँदाको सन्देश राज्य शिक्षाको दायित्वबाट भाग्न खोजेको हो भन्ने नै हुन्छ ।’

केही निजी शैक्षिक संस्था सञ्चालकहरुलाई कालो धनको व्यापार गर्ने वैधानिक लाइसेन्स दिने काम बजेट मार्फत् भएकाले यो किमार्थ स्वीकार नभएको नेता पराजुलीले जिकिर गरे।

‘यो गर्नुहुँदैन । यो कम्युनिस्ट पार्टीको सरकार हो । समग्र बजेटको आकार घटे पनि शिक्षामा बजेट बढेको छ । शिक्षामा कुल बजेटको ११.६४ प्रतिशत छुट्याइएको छ । यसलाई केही सकारात्मक रुपमा लिन सकिएला तर अनेरास्ववियूले निरन्तर भन्दै आएको कुल बजेटको २० प्रतिशत कहिले पुग्ला ?’ नेता पराजुलीको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्