३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्याका अभियुक्त नेपाल ल्याइयाे



काठमाडौँ : ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ ।

 

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ ।

 

श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न व्यक्ति हुन् । उनले त्यहाँबाट नेपाल सुन पठाउने काम गर्थे । रेड नोटिस जारी गरेपछि युएई प्रहरीले उनलाई पक्राउ गरेर तारेखमा छाडेको थियो ।

 

दुई देशबीच सुपुर्दगी सन्धि नभएको कारण युएईले उनलाई निष्काशन गरी नेपाललाई हस्तान्तरण गरेको हो । त्यस्तै, सुन तस्करका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ का भाई रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । उप्रेती पनि दुबईमा पक्राउ परिसकेका छन् ।

 

उता, सुन तस्करी प्रकरणमा फरार रहेका व्यवसायी ठाकुर ढुंगानाले भने अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई मोरङ जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

 

यसअघि नेपालले गोरेसहित १३ जनाबिरुद्ध रेड नोटिस जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्