देशभर कोभिड अस्पतालमा १६२४ बेड, संक्रमित १४ सय नाघे, अब संक्रमितको उपचार घरमै गर्ने सरकारको तयारी



देशभर ९,४३० नमुना रिपोर्टको पर्खाइमा, बागमतीमा किटसँगै कर्मचारी पनि अभाव

काठमाडौं : संक्रमितमध्ये दुई सय १९ जना निको भएर घर गएका छन् । ‘११ सय ७६ जना संक्रमित अहिले अस्पतालमा छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्छन् । कोभिड अस्पतालमा अब चार सय ४८ जना संक्रमित मात्रै भर्ना गर्न सक्ने क्षमता छ । सरकारले केही अस्थायी क्लिनिकमा करिब चार सय संक्रमित राख्न सकिने जनाएको छ । तर, संक्रमणको गति र सरकारको तयारीबीच कतै पनि तालमेल देखिएको छैन । 

‘नेपालमा करिब १५ सयसम्म संक्रमित हुने अनुमानका आधारमा तयारी गरिएकोमा संक्रमण तीव्र गतिमा फैलिएकाले अब उपचारको व्यवस्था नै परितर्वन गर्नुपर्ने अवस्था आएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । मन्त्रालय स्रोतका अनुसार अब घरमा बसेका, तर गम्भीर समस्या नभएका संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लागू गर्ने तयारी सरकारको छ । त्यस्तै अस्पतालमा भर्ना भएका, तर स्वास्थ्य सामान्य भएका संक्रमितलाई पनि घर पठाइने विषयमा छलफल भएको छ ।

‘स्वास्थ्य सामान्य भएका अथवा लक्षण नै नदेखिएका संक्रमितलाई अस्पतालमा लगेर उपचार गराउन सम्भव देखिएन । अब संक्रमितलाई पनि स्वास्थ्य अवस्थाका आधारमा वर्गीकरण गरेर सेवा दिने भएको हो,’ मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘यो विषयमा छलफल भइरहेको छ, तर निर्णय भइसकेको छैन ।’

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड अस्पताललाई पनि तीन समूहमा वर्गीकरण गरिनेछ । मृत्युसँग लडिरहेका अन्तिम अवस्थाका बिरामी, गम्भीर बिरामी र सामान्य बिरामीलाई अलग–अलग समूहमा राखिनेछ । कोभिड संक्रमितको संख्या धेरै देखिएका र मृत्युको संख्या बढी भएका देशमा पनि यही सूत्रमा उपचार भइरहेकाले नेपालमा त्यही अनुसरण गर्न थालिएको मन्त्रालयको भनाइ छ । 

अहिलेसम्म भारतमा श्रम गर्न गएका युवामा मात्र संक्रमण भेटिएकाले मृत्युको संंख्या नियन्त्रित छ । तर, समुदायमा संक्रमण फैलिएमा दीर्घरोगी, वृद्धवृद्धालाई यसले बढी असर गर्नेछ । ‘हामी आजसम्म यो मानेमा भाग्यमानी छौँ, धेरै संक्रमितमा लक्षण नै छैन, भए पनि सामान्य छ । तर, मृत्युको संख्या पनि बढ्दै गएकाले सचेत भने हुनैपर्ने देखिएको छ,’ डा. देवकोटाले भने । 

देशभर ९,४३० नमुना रिपोर्टको पर्खाइमा

कोभिड संक्रमण फैलिए पनि परीक्षणको गति भने सन्तोषजनक रूपमा बढेको छैन । हाम्रा प्रयोगशालाको सीमित क्षमताले असीमित परीक्षण थेग्न सकेका छैनन् । शनिबारसम्म देशभर नौ हजार चार सय ३० नमुना प्रयोगशालामा ‘होल्ड’ भएका छन् । 

दैनिक रूपमा नयाँ आउने नमुनाको संख्या धेरै छ, तर परीक्षण गरेर रिपोर्ट दिने संख्या सीमित छ । त्यसैले प्रयोगशालामा नमुना थुप्रिँदै जान लागेको प्रयोगशाला प्रमुखहरूले बताएका छन् । 

देशभर २० ठाउँमा कोभिड प्रयोगशाला स्थापना भए पनि अहिले १८ मात्रै सञ्चालनमा छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ‘अनावश्यक’ परीक्षणले भार धान्न नसकेको बताए । ‘विदेशबाट आएको र संक्रमितको सम्पर्कमा रहेको जस्ता मापदण्डमा पर्ने व्यक्तिको मात्रै नमुना संकलन हुनुपर्ने हो । तर, अहिले मापदण्डभन्दा बाहिरका व्यक्तिले पनि नमुना दिएका छन्, त्यसैले परीक्षण सक्न गाह्रो छ,’ उनले भने । 

परीक्षणमा सबैभन्दा बढी भार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई परेको छ । वीर र पाटन अस्पतालले ज्यादै कम नमुना परीक्षण गर्दा केन्द्रीय प्रयोगशालालाई भार परेको प्रयोगशालाका अधिकारीहरू बताउँछन् । यी दुई अस्पतालका प्रयोगशालाले दैनिक चार सयसम्म परीक्षण गर्ने क्षमता राख्छन्, तर अहिले ५० देखि ६० को हाराहारीमा मात्रै नमुना परीक्षण गर्दै आएका छन् । त्यस्तै प्रदेश २ बाट पनि धेरै नमुना केन्द्रमा आउँछ । 

सीमित स्रोत र जनशक्तिका कारण अहिलेको माग थेग्न नसकिने प्रयोगशाला प्रमुखहरूको भनाइ छ । प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशाला प्रमुख राजेन्द्र गिरी भन्छन्, ‘सकेसम्म धेरै नमुना संकलन गर्नु राम्रो हो, तर मापदण्डभित्र पर्ने नमुना आए परीक्षणमा सहज हुने थियो, अन्यथा हाम्रो स्रोत र जनशक्तिले धान्न नसक्ने अवस्था छ ।’

प्रदेश १ का जनस्वास्थ्य प्रयोगशाला निर्देशक जयविन्द्र यादवले पिसिआर मेसिनको क्षमता कम भएकाले नमुना ‘होल्ड’ गर्नुपरेको बताए । उनका अनुसार प्रदेशको प्रयोगशालाको क्षमता दैनिक चार सय परीक्षण गर्ने हो भने नमुना भने दैनिक एक हजार संकलन हुने गरको छ । उनले भने, ‘कोभिड परीक्षणका लागि अटोमेटिक मेसिनको आवश्यकता देखिएको छ ।’

अहिले अन्य रोगका बिरामीको उपचार गर्दा अस्पतालले पिसिआर रिपोर्ट खोज्न थालेका छन् । अदालतले कैदीलाई अदालतभित्र प्रवेश गराउनुअघि पनि पिसिआर परीक्षणको रिपोर्ट खोज्ने, नाकाबाट आएका सबैको पिसिआर परीक्षण अनिवार्य गर्ने, राजनीतिकर्मीहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी, भाडामा बस्ने सबैको पिसिआर परीक्षण नै गर्नुपर्ने दबाबले तत्काल परीक्षण गर्नुपर्ने नमुनासमेत ओझेलमा परेका छन् । 

प्रदेश १ मा तीन ल्याब, परीक्षण गर्न एक सातामा पनि आएन पालो

झापा-कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन्, तर अहिलेको चापलाई धान्न सकेका छैनन् । संक्रमण फैलिएका स्थानीय तहले एक सातासम्म परीक्षणको पालो पाएका छैनन् । 

अहिले विराटनगरको कोसी अस्पताल, प्रादेशिक प्रयोगशाला र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको परीक्षण हुँदै आएको छ । तीनै प्रयोगशालाले दैनिक तीन सय नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको संयोजन गरिरहेका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयवेन्द्र यादवले बताए । तर, दैनिक ६ सयदेखि सात सयसम्म स्वाब परीक्षणका लागि आउने गरेको यादवले बताए । 

उनका अनुसार प्रादेशिक प्रयोगशालाले एकपटकमा एक परीक्षण गर्दा ३५ नमुना र ‘पुल’मा अर्थात् एकैपटक धेरै स्वाब राखेर परीक्षण गर्दा ५० नमुनाको मात्र परीक्षण गर्न सक्ने क्षमता छ । क्षमता कम भएकाले पुलमा परीक्षण गर्न नसकिएको बताउँदै उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने खालका र धेरै आएका स्वाब अरू दुई ल्याबले परीक्षण गर्छन् ।’ कोसीले एकपटकमा एक मात्र स्वाब परीक्षण गर्दा दैनिक सयदेखि एक सय २० सम्म परीक्षण गर्न सक्छ । यो ल्याबले पुल विधिबाट परीक्षण गर्दा दुई सयसम्म गर्न सक्ने उनले बताए । बिपीको पनि क्षमता कोसीको जस्तै रहेको यादवको भनाइ छ । 

क्षमताभन्दा बढी नमुना आउँदा आधाजति थन्किने गरेका छन् । जसले गर्दा एक हप्तासम्म पालो नपाएको संक्रमण फैलिएका स्थानीय तहले गुनासो गरेका छन् । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना संक्रमण बढ्दै गएकाले अहिलेको परीक्षण क्षमता पर्याप्त नभएको बताए । ‘अहिले हामी दैनिक तीन सयको मात्र पिसिआर परीक्षण गर्न सक्छौँ । यो कमै भएको छ,’ मन्त्री घिमिरेले नयाँ पत्रिकासँग भने, ‘अब दुईवटा पिसिआर मेसिन थपेर दैनिक एक हजार स्वाब परीक्षण गर्न सक्ने क्षमता पु¥याउँदै छौँ ।’ तर, मेसिन राख्नका लागि ल्याब नभेटिएको मन्त्री घिमिरेले बताए ।

प्रदेश २ मा परीक्षण सुस्त, किट र पिसिआर मेसिनको अभाव

जनकपुरधाम-भारतबाट फर्किने नेपालीको संख्या बढ्न थालेपछि प्रदेश २ मा क्वारेन्टाइन भरिएका छन् । तर, ल्याब कम हुँदा कोरोना भाइरसको परीक्षणले गति लिन सकेको छैन । परीक्षणमा ढिलाइ हुँदा क्वारेन्टाइमै धेरै दिन राख्नुपरिरहेको स्थानीय तह प्रमुखले बताएका छन् । महोत्तरीको औहरी नगरपालिका मेयर सुनीलकुमार यादवले भने, ‘दुई क्वारेन्टाइन भरिएका छन् । समयमा परीक्षण नहुँदा एकजनालाई २० देखि २५ दिनसम्म राख्नुपरिरहेको छ ।’

प्रदेश २ मा वीरगन्ज र जनकपुरमा प्रयोगशाला छन् । तर, जनकपुरको प्रादेशिक अस्पतालमा जडान गरिएको मेसिन बिग्रिएपछि नयाँ मेसिन खरिद गरिएको छ । यसले एकपटकमा ९६ नमुना परीक्षण गर्न सक्छ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा जडान गरिएको मेसिनको दैनिक ७२ नमुना परीक्षण गर्ने क्षमता रहेको छ । 

यसले चाप धान्न नसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका सचिव राम घिमिरेले भने, ‘जनकपुरमा जडान गरिएको मेसिन भरपर्दो थिएन, त्यसैले प्रदेश सरकारले थप दुईवटा मेसिन जनकपुर र राजविराजका लागि खरिद गरेको छ । जनकपुरमा शुक्रबार नै नयाँ मेसिन जडान भई परीक्षणको सुरु भएको छ, राजविराजमा सोमबारदेखि परीक्षण सुरु हुन्छ ।’

यसका लागि चाहिन किटको अभाव भएकाले पनि परीक्षणमा ढिलाइ भइरहेको सचिव घिमिरेले बताए । संघीय सरकारले पठाएका र प्रदेश सरकारले खरिद गरेका किट सकिन लागेका छन् । अब आरडिटी परीक्षण गर्ने र त्यसबाट पोजेटिभ आएकालाई मात्रै पिसिआर विधिबाट परीक्षण गरिने उनले बताए । 

बागमतीमा किटसँगै कर्मचारी पनि अभाव

हेटौँडा- बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकाबाहेक हेटौँडामा कीटजन्य रोग अनुसन्धान तालिम केन्द्र, चितवनमा भरतपुर अस्पतालको मातहतमा कोभिड–१९ परीक्षण प्रयोगशाला र काभ्रेको धुलिखेल अस्पतालमा प्रयोगशाला सञ्चालन गरिएको छ । तर, किट र कर्मचारी अभाव हुँदा समयमै परीक्षण गर्न सकिएको छैन । सबै ठाउँमा गरेर शनिबारसम्म दुई हजार पाँच सय नमुना परिक्षण गर्न बाँकी छन् ।

हेटौँडाको प्रयोगशालामा चारजना मात्रै कर्मचारी छन् । उनीहरूले धान्न नसकेपछि स्वाबको नमुना चितवन र काठमाडौं पठाउने गरिएको छ । कम्तीमा १० जना कर्मचारी हुनुपर्नेमा चार मात्रै भएकाले परीक्षणमा ढिलाइ भएको निर्देशक डा. नारायण कार्कीले बताए । उनका अनुसार एकपटकमा ९० नमुना परीक्षण गर्न सकिने भए पनि कर्मचारी अभावले २० मात्रै भइरहेका छन् । ‘कर्मचारीको माग गरिएको छ, तर सरकारले उचित स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्न नसक्दा स्वास्थ्यकर्मी आत्तिएका छन्,’ उनले भने । 

काभ्रेको धुलिखेल अस्पतालमा सञ्चालित प्रयोगशालामा पनि पाँचजनामा मात्रै कर्मचारी छन् । दशजना कर्मचारी हुनुपर्नेमा आधा मात्रै भएकाले समयमै परीक्षण गर्न नसकिएको अस्पतालले जनाएको छ । शनिबार साँझसम्म एक सय ८२ वटा नमुना परीक्षण गर्न बाँकी रहेको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले बताए । 

भरतपुर अस्पतालमातहत रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा भने समयमै परीक्षण भइरहेको छ । अहिलेसम्म एक हजार पिसिआर किट मौज्दात रहेको र कर्मचारी पनि अभाव नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । यो प्रयोगशालामा १० जना कर्मचारी छन् । 

रिपोर्टको पखाईमा नौ दिनदेखि आइसोलेसनमा

कोरोना परीक्षणको रिपोर्ट नआउँदा हेटौँडामा सातजना नौ दिनदेखि आइसोलेसन र क्वारेन्टाइनमा बसिरहेका छन् । ९ जेठमा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालाले हेटौँडाका सातजनाको स्वाब संकलन गरेको थियो । तर, हालसम्म रिपोर्ट आएको छैन । उनीहरू हेटौँडा–४ स्थित श्रमिक माविको आइसोलेसन र क्वारेन्टाइनमा बसिरहेका छन् । हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट प्राप्त नभएको आइसोलेसन वार्ड इन्चार्ज भोला चौलागाईंले बताए । ‘हेटौँडामा गरिएको परीक्षणमा प्राविधिक समस्या देखियो भनिएको थियो, त्यसपछि काठमाडौं पठाएको खबर आएको छ, रिपोर्ट आएको छैन,’ उनले भने ।

गण्डकीमा कर्मचारीसँगै मेसिन राख्ने ठाउँ अभाव

पोखरा-गण्डकी प्रदेशमा दुईवटा पिसिआर मेसिन छन् । एउटा संघीय सरकारले पठाएको थियो भने अर्को प्रदेश सरकारले खरिद गरेको छ । तर, जनशक्ति र मेसिन राख्ने ठाउँको अभाव हुँदा एउटा मात्रै सञ्चालनमा आएको छ । 

जनशक्ति र मेसिन राख्ने ठाउँ अभाव हुँदा दुवै मेसिन सञ्चालन गर्न नसकिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले बताए । ‘जनशक्ति पनि छैन । फेरि, दुवै मेसिन एउटै ठाउँमा सञ्चालन गर्न सम्भव भएन,’ उनले भने । अर्को मेसिन राख्ने ठाउँ खोजी भइरहेको उनको भनाइ छ । 

अहिले सञ्चालनमा रहेको मेसिनले तीन सिफ्ट गरेर दिनमा एक सय ५० नमुना परीक्षण गर्न सकिने उनले बताए । समयमै परीक्षण नहुँदा नमुना थुप्रिएका छन् । शनिबारसम्म दुई सय ६८ नमुना परीक्षण गर्न बाँकी रहेको डा. शर्माले बताए । 

प्रदेश ५ मा थन्किए तीन हजारभन्दा बढी नमुना

बुटवल-प्रदेश ५ मा तीनवटा प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ । तर, जनशक्ति अभावले समयमै परीक्षण गर्न सकिएको छैन । शनिबारसम्म तीन हजार ६७ नमुना थन्किएका छन् । 

रुपन्देहीस्थित प्रदेश जनस्वस्थ्य प्रयोगशालामा नौ सय ९५ नमुना परीक्षण गर्न बाँकी छ । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार अहिले दैनिक दुई सयदेखि दुई सय ५० सम्म नमुना परीक्षण भइरहेको छ । 

त्यस्तै, बाँकेको भेरी अस्पताल प्रयोगशालामा पनि नमुना थन्किएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार भेरी अस्पताल प्रयोगशालामा सात सय ७८ नमुना परीक्षण गर्न बाँकी छन् । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि समयमै परीक्षण गर्न सकिएको छैन । शनिबारसम्म तीन हजार आठ सय नमुना संकलन भएकोमा एक हजार दुई सय ९४ नमुना थन्किएका छन् । 

प्रदेशका प्रयोगशालामा नमुना थन्किन थालेपछि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार हजार एक सय ८९ नमुना पठाएको थियो । तीमध्ये अझै एक हजार पाँच सय ६२ नमुना परीक्षण भएका छैनन् । 

कर्णालीमा दुई प्रयोगशालामा दैनिक चार सय नमुना परीक्षण 

सुर्खेत-भारतबाट नेपाल फर्कनेको संख्या बढेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । पछिल्लो एक सातामा मात्र ७९ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण बढाइएपछि प्रदेशमा रहेका दुईवटा प्रयोगशालामा पनि चाप बढेको छ । 

कर्णालीमा सुर्खेतस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थ्रोट स्वाब परीक्षण हुन्छ । दुवै प्रयोगशालाबाट दैनिक औसत चार सय नमुनाको परीक्षण हुने गरेको कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक रीता जोशी भण्डारीले बताइन् । दुवै ठाउँमा एकपटक ९६ नमुना परीक्षण गर्न सक्ने पिसिआर मेसिन छन् । ‘एउटा मेसिनले एकपटकमा ९६ नमुना परीक्षणको क्षमता राख्दछ, तर दैनिक २० घन्टा मेसिन सञ्चालन गरी चार सयसम्म नमुना परीक्षण गरिएको छ,’ उनले भनिन् । 

तैपनि करिब हजारभन्दा बढी नमुना परीक्षण हुन बाँकी छन् । शनिबार साँझसम्म सुर्खेतमा एक सय ५० र जुम्लामा नौ सय नमुना परीक्षण गर्न बाँकी छन् ।

पछिल्लो समय सुर्खेतबाट पनि परीक्षणका लागि जुम्ला नमुना पठाइन थालेको छ । बिहीबार मात्र सुर्खेत र दैलेखमा संकलन गरिएका आठ सय ८० नमुना जुम्लामा परीक्षण गरिएको निर्देश्क भण्डारीले बताइन् । ‘भारतबाट फर्किनेको संख्या बढेसँगै सुर्खेतको मेसिनमा भार पनि बढी हुने भएकाले केही नमुना जुम्ला पठाइएको हो,’ उनले भनिन् । अझै पनि सुर्खेतमा चाप घटेको छैन । 

धनगढी प्रयोगशालामा थन्किए ५४५ नमुना

धनगढी-प्राविधिक जनशक्ति अभावले धनगढीस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर मेसिनको क्षमताअनुसार थ्रोट स्वाबको जाँच हुन सकेको छैन । संकलन गरिएका नमुना थन्किन थालेका छन् । शनिबारसम्म पाँच सय ४५ नमुना जाँच हुन बाँकी रहेको प्रयोगशालाले जनाएको छ ।

अहिले दैनिक औसत दुई सय नमुना जाँच भइरहेको छ । पर्याप्त जनशक्ति भए दैनिक साढे तीन सय नमुनासम्म जाँच गर्न सकिने प्रयोगशाला प्रमुख रमेश शाहीले बताए । ‘अहिले हामी तीन सिफ्टमा मेसिन चलाएर जाँच गरिरहेका छाँै, पाँचजनाजति मात्रै पनि प्राविधिक कर्मचारी थप्ने हो भने मेसिन चार सिफ्टमा चलाउन सकिन्छ,’ शाहीले भने, ‘जनशक्ति थप भए प्रतिसिफ्टमा जाँच गरिने नमुना संख्या पनि बढाउन सकिन्छ ।’ 

अहिले हरेक सिफ्टमा ६५–७० नमुना जाँच भइरहेकोमा जनशक्ति थपिए ९० नमुना जाँच गर्न सकिने उनले बताए । धनगढीमा एकपटकमा ९६ नमुना जाँच गर्न सक्ने पिसिआर मेसिन छ । एक साताअघि चार कर्मचारी थपिएपछि अहिले प्रगोशालामा ल्याब टेक्निसियनसहित आठजना कर्मचारी कार्यरत छन् । यसअघि चारजनाले मात्रै काम गरिहेका थिए । प्रदेशभर हालसम्म पिसिआर विधिबाट पाँच सय ३६ र आरडिटी विधिबाट २१ हजार आठ सय २० जनाको कोरोना जाँच गरिएको छ । प्रदेशमा अहिले एक हजार पाँच सय १७ भिटिएम र चार हजार पाँच सय सात आरडिटी किट मौज्दात रहेको प्रयोगशालाले जनाएको छ ।

पछिल्लो समय सुदूरपश्चिममा भारतबाट दैनिक हजारौँ नेपाली स्वदेश फर्किरहेका छन् । उनीहरूको कोरोना परीक्षण हुन सकेको छैन । २ जेठयता कैलालीको त्रिनगर नाकाबाट मात्रै करिब साढे ३७ हजार भित्रिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । प्रदेशभर शनिबारसम्म २१ जनामा संक्रमण देखिएको छ । उनीहरूमध्ये १५ जना भारतबाट फर्केका हुन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्