बाजुरा अस्पतालको आइसोलेसनमा २ वर्षीय बालिकाको मृत्यु



बझाङ : बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिका २ वर्षीय बालिकाको मृत्यु भएको छ ।

आइतबार बिहान बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

मृतक बालिकाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । पीसीआर रिपोर्ट आउन बाँकी रहेको र बालिकाको शव व्यवस्थापन परीक्षण रिपोर्ट आएपछि मात्र गरिने अस्पतालले जनाएको छ ।

बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा बालिका आफ्ना बाबुआमासँगै थिइन् । बालिकासहित आमाबुवाको स्वाब संकलन गरी धनगढी पठाइएको थियो । अवस्था जटिल भएपछि उनलाई मार्तडीको जिल्ला अस्पतालको आइसोलेसनमा जेठ १५ गते साँझ राखिएको थियो । बालिका पखाला, ज्वरो र श्वासप्रश्वास समस्याबाट ग्रसित रहेकी थिइन् ।

बालिकाको अस्वथा गम्भीर रहेका कारण बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

८ दिनअघि उनको परिवार भारतबाट आएका उनीहरुलाई बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । बालिकासंँगै उनका बुवा र आमालाई पनि आइसोलेसनमा राखिएको थियो । उनी भारतबाट आउँदै गरेको अवस्थामा बाटोबाटै बिरामी थिइन् ।

प्रतिक्रिया दिनुहोस्