शहीद उद्यान निर्माण शुरु



दमौली : तनहुँको भानु नगरपालिका–२ फुस्रेटारस्थित सामुदायिक वनमा शहीद उद्यान निर्माण शुरु गरिएको छ । मझुवा ओख्ले सामुदायिक वनमा शहीद उद्यान निर्माणका लागि जग तयार गर्ने गरी काम शुरु गरिएको हो । उद्यान निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेपछि काम शुरु गरिएको उद्यान निर्माण समितिका अध्यक्ष बाबुराम विकले जानकारी दिए । नगरपालिकाकै रु १० लाख लागतमा गत आर्थिक वर्षमा उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो ।

विकका अनुसार मझुवा ओख्ले सामुदायिक वनको १५३ रोपनी जग्गामा राणाविरुद्धको आन्दोलन, पञ्चायतविरुद्धको आन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनका शहीदको स्मृतिमा उद्यान निर्माण गरिनेछ । डिपिआरअनुसार उद्यान निर्माणका लागि रु १२ करोड लागत अनुमान गरिएको छ । उद्यानमा शहीदका स्मारकबाहेक, दृश्यावलोकन स्तम्भ, बालउद्यान, मनोरञ्जन उद्यान, ४०० जना अट्ने सभाहल, पैदलमार्ग, साहित्यिक स्रष्टाहरुको स्मारक, फूलको बगैँचा, रेष्टुरेन्ट, सवारी पार्किङस्थललगायतका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । उद्यान निर्माणका लागि सर्वदलीय सहमति र सहभागितामा निर्माण समिति गठन गरिएको छ ।

सबै पार्टीहरुको साझा थलोका रूपमा र सबै आन्दोलनका शहीदको सम्मान हुने गरी उद्यान निर्माण गर्न लागिएको उद्यान निर्माण समितिका सल्लाहकार एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य ओमकुमारी पौडेलले जानकारी दिए । उद्यान निर्माणका लागि मझुवा ओख्ले सामुदायिक वनले आफ्नो स्वामित्वको १५३ रोपनी जग्गा निर्माण समितिलाई भोगाधिकारका रूपमा उपलब्ध गराइसकेको छ । उद्यानको भानु इञ्जीनियरिङ कन्सल्टेन्सीले विस्तृत प्रतिवेदन (डिपिआर) तयार गरेको थियो ।

उद्यान निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिने समितिका अध्यक्ष विकले जानकारी दिए । उद्यानमा शुरुआती चरणमा भानु नगरपालिकाभित्र घर भएका शहीदहरुको स्मारक राख्ने योजना भए पनि भविष्यमा जिल्लाभरका शहीदको स्मारक बनाइनेछ । उद्यान निर्माण गरिने डाँडाको टुप्पोमा स्थानीयवासीले वर्षौँदेखि पूजा गर्दै आएको कालिका मन्दिर रहेको हुँदा उक्त मन्दिरसम्म पुग्ने पैदलमार्गसमेत निर्माण गरिने र मन्दिरलाई विशेष प्रकारले संरक्षण गरिने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्