पर्सामा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, ५ जना घर फर्किने तयारीमा



वीरगन्जः भारतबाट घर फर्केका पर्साका ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्लाको विन्दवासनी गाउँपालिकाका १ जना, सखुवाप्रसौनी गाउँपालिकाका २ जना र कालिकामाई गाउँपालिकाका ४ जना गरी सात जना कोरोना संक्रमणको पुष्टि भएको हो ।

विन्दवासनी गाउँपालिकाको मंगलबार बेलुका नै पुष्टि भएको थियो भने, अन्यको बुधबार मात्र पुष्टि भएको हो । सातैजना भारतको लुधियान, दिल्ली, बनारस, हरियाण, सुरत लगायतको शहरबाट घर फर्केका थिए । गत १४ गते नेपाल प्रवेश गरेका उनीहरुलाई गाउँपालिकाकै विभिन्न ठाउँमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको थियो ।

भारतको हरियाणाबाट फर्केका पर्साको ३४ वर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ झौवागुठी स्थित रामप्रित रामस्वरुप चौरसिया माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका युवकको पीसीआर परिक्षणको लागि १६ गते स्वाब संकलन गरी पठाईएकोमा मंगलबार रिपोर्ट आउँदा पोजेटिभ भेटिएको थियो ।

त्यसैगरी कालिकामाई गाउँपालिकाको श्रीनेरा प्रावि हरिहरपुर विर्तामा स्थापना गरिएको क्वारेन्टाईनबाट बुधबार ४ जनाको कोरोना संक्रमित भएका भेटिएका थिए । गाउँपालिकाको वडा नम्बर १ का ४२ बर्षिय १ जना, वडा २ का ३० र ४५ बर्षिय २ जना र वडा नम्बर ५ का १६ बर्षियमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतको लुधियाना, हरियाण र सुरतबाट घर फर्केका यिनिहरुलाई हरिहरपुर विर्तामा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टाईनमा रहेका २१ जना मध्ये १८ जनाको जेष्ठ १९ गते पीसीआर परिक्षणको लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

त्यसैगरी सखुवागाउँपालिकाको वडा नम्बर २ का जमुनियाका २५ बर्षिय र गुलरीयाका ४९ बर्षको पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । गाउँपालिकाका संक्रमित भेटिएका २५ बर्षिय युवक भारतको बनारस र ४९ बर्षिय पुरुष भारतकै लुधियानाबाट जेष्ठ १४ गते घर फर्केका थिए । दुवैजनालाई गाउँपालिकाको दुईवटा क्वारेन्टाईनमा राखिएको थियो ।

जेष्ठ १९ गतेका दिन नारायणी अस्पतालको चिकित्सक सहितको टोलीले गाउँपालिकाको विभिन्न क्वारेन्टाईनमा रहेकाहरुको पीसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको थियो । स्वाब परिक्षणको रिपोर्ट आउँदा तीनवटै गाउँपालिकाका सातजनामै कोरोना संक्रमित भएको भेटिएपछि थप उपचारको लागि वीरगन्जको नारायणी अस्पतालको अस्थायी कोभिड १९ अस्पताल गण्डक होस्पीटलमा ल्याईएको अस्पतालका ईन्चार्ज डा. मेहन्दी हसन अंसारीले बताए ।

सखुवाप्रसौनीको क्वारेन्टाईनबाट ४८ जना, नारायणी अस्पतालबाट ३१ जना, पोखरीया अस्पतालबाट ४१ जना र कालिकामाई गाउँपालिकाबाट २५ जनाको पीसीआर परिक्षणको लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये मंगलबार र बुधबार आएको रिपोर्ट मध्ये सात जनामा मात्र कोरोना संक्रमणको पुष्टि भएको हो ।

अस्थायी कोभिड अस्पताल गण्डकमा २० जना पर्साका कोरोना संक्रमितको उपचार भईरहेको छ । र उनीहरुको अवस्था अहिले सम्म समान्य रहेको छ । उपचारर्थ मध्ये ५ जनाको निको भईसकेको अस्पतालका ईन्चार्ज अंसारीले बताए ।

उनले भने, पूर्ण रुपमा निको हुने मध्ये बाराका दुई जना नेपाली सेना, पर्साको जिराभवानीका एक जना, वीरगन्ज १६ नगवाका १ जना र जेलरोडको १ जना गरी पाँच जनाको आज नै डिस्चार्ज गर्ने प्रकृया भईरहेको छ सम्भवत बेलुका सम्म डिस्चार्ज भई घर फर्कने छन ।

भारतको विभिन्न शहरबाट घर फर्केका र उनीहरुको ट्रेसिङ्गको आधारमा पर्सा जिल्लामा हालसम्म ३ हजार ८ सय ६७ जनाको पीसीआर परिक्षणको लागि स्वाब संकलन गरिएको छ । जसमध्ये ३ हजार ४ सय ६७ जनाको रिपोर्ट निगेटिभ आएको छ । ४१० जनाको रिपोर्ट आउँन अझै बाँकी नै रहेको छ । त्यसैगरी आरडिटी प्रविधिबाट हालसम्म २५ सय ३ जनाको स्वास्थ्य परिक्षण भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्