शौचालयको वासबाट मुक्ति : डेरामा जमुनाको परिवार



म्याग्दी : नाबालक दुई नातिसहित शौचालयका लागि बनाइएको छाप्रोमा बस्दै आएकी जमुना सुनार डेरामा सरेकी छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटकी जमुना सुनार सोही गाउँको सरस्वती आधारभूत विद्यालयको शौचालयमा बस्दै आएकी थिइन ।

दुई छोरालाई वृद्धा आमाको जिम्मा लगाएर सम्पर्कविहीन भएका जमुनाका छोरा राजुलाई प्रहरीको सहयोगमा सम्पर्कमा ल्याएर छोराहरूको संरक्षण, शिक्षा र पालनपोषणको जिम्मा लगाइएको र छोरा राजुले मासिक ६ हजार रुपैयाँ दिने सहमति भएपछि स्थानीय बुद्धिजीवीको रोहवरमा उनीहरूलाई डेरामा सारिएको हो ।

दुई नातिसँगै बगरफाँटको सरस्वती आधारभूत विद्यालय परिसरमा चर्पीका लागि बनाइएको भवनमा गत मङ्सिरदेखि बस्दै आएकी सुनारको दयनीय अवस्थाका बारेमा समाचार प्रकाशन प्रसारण भएपछि विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले उनीहरूको व्यवस्थापनका लागि चासो देखाएका थिए ।

बुवा र आमा दुवैले दोस्रो विवाह गरेर बेपत्ता भएपछि अलपत्र बनेका ९ वर्षीय एनोस र ७ वर्षीय सिमसन २ वर्षदेखि हजुरआमा जमुनासँग बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्