भारतले नेपालमा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने



काठमाडौं– भारतले नेपालका विभिन्न जिल्लाका उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने भएको छ ।

काठमाडौंस्थित भारतीय दुतावासका अनुसार भारत सरकारले नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गरिने भएको हो ।

विद्यालयको पुनःनिर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेको दुतावासले विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

विज्ञप्तीमा भनिएको छ– ‘नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु २.९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण गरिनेछ ।’

भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरू नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुने बताइएको छ । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरूसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहको दुतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्