राप्रपाले थाल्यो धर्मयात्रा : देशभर यज्ञ र अनुष्ठान गरिने 



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र नेपालका लागि दबाब दिन बुधबारदेखि मेची महाकाली यात्रा गर्ने भएको छ । पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दुराष्ट्र बनाउने उद्देश्यले फागुन १५ मा ताप्लेजुङबाट सुरु हुनेछ ।

दुई हजार ८०० किलोमिटरको अवधिभर विभिन्न ठाउँमा करिब दुई सय सभा गरिनेछ । यस्तो यात्रा अन्य जिल्लामा समेत गरिने पार्टीले जनाएको छ ।

सभालाई पार्टीका शीर्ष नेता तथा धार्मिक गुरुहरूले सम्बोधन गर्नेछन् । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सक्षम, समर्थ एवं समृद्ध राष्ट्र बनाउने उद्देश्यले उक्त यात्रा थालिएको हो ।यात्राक्रममा महँगी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका विभिन्न समसामयिक राजनीतिक अवस्थाबारे जनतालाई जानकारी गराउनुका साथै यज्ञ, हवन तथा अनुष्ठान पनि गरिने भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

यात्राका दौरान राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन र संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरिनुपर्ने जस्ता पार्टीको राजनीतिक अजेन्डासमेत जनतामाझ छलफलमा लगिनेछ । यात्राक्रममा विभिन्न नदी तथा तीर्थस्थलबाट ल्याइने जल पशुपतिनाथ मन्दिरमा समापनका दिन चढाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्