#दलित-लाइभ्स्-म्याटर?



सामाजिक संजाल एक उत्कृष्ट माध्यम हो आवाज उठाउनका लागि। धेरै कुराहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका हुन्छन्। अझै ह्यासट्याग (#) लागेपछि त झनै उत्पात नै हुने गर्छ त्यस बिषयमा बोल्नेहरूको। त्यस्तै आजकल रुकुमको घटनापछि #दलित– लाइभ्स्–म्याटर भनेर ह्यासट्याग चलेको छ।

जातीयताको आधारमा भेदभाव गरिनु कानुनी रुपमा अपराध मानिन्छ। नेपालको संविधान २०७२ को भाग ३ धारा २४ मा समानताको हक छुवाछूत तथा भेदभाव विरुद्धको हक अन्तर्गत “उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन“ भनेर लेखिएको छ। जब राज्यको कानुनले नै कुनै जात को आधारमा भेदभाव गर्दैन तब #दलित– लाइभ्स्–म्याटर मात्र किन?

#दलित–लाइभ्स्–म्याटर ह्यासट्याग हाल अमेरिकामा चर्चामा रहेको #‘ब्ल्याक लाइभ्स् म्याटर’ बाट प्रेरति ह्यासट्याग हो। ब्ल्याक लाइभ्स् म्याटर’ जुलाई १३ सन् २०१३ बाट चलिआएको Alicia Garza, Patrisse Cullors, Opal Tometi द्वारा संचालित एक “मास मुुभमेन्ट“ हो। त्यस्तै दलित–लाइभ्स्–म्याटर भारतबाट सुरु भएको दलित समुदाय माथि उकाल्न गरिएको प्रयास हो। दलित–लाइभ्स्–म्याटर भन्नुको अर्थ दलितहरु पनि मान्छे नै हुन् र उनिहरुलाई पनि जिउने अधिकार छ भनेर भन्नु हो।

भारतको उत्तर प्रदेश मा २०१५ मा, दुई जना युवतीलाई सामूहिक बलात्कृत छन् भनेर, अप्रचलित गाउँ परिषदले सजाय सुनायो, उनीहरूको अनुहारमा कालो दलियो र उनीहरूलाई शहरको सडकमा नाङ्गो पारियो। तिनीहरूको अपराध? २३ र १८ वर्ष उमेरका महिलाका भाइहरुले उच्च सामाजिक प्रतिष्ठाको विवाहित महिलासँग भागेका थिए र उनीहरूका अधिक सुविधा प्राप्त छिमेकीहरूले सजायको माग गरे। महिलाहरू दलितहरू थिए, जुन भारतको जाति प्रणालीको सब भन्दा कम संख्या हो, जसलाई एक पटक ’अछुत’ भनिन्थ्यो। त्यसपछि भारतमा सुरु भयो # दलित–लाइभ्स्–म्याटर ।

नेपालमा पनि रुकुममा नवराज बिक जब आफ्नी उच्च जातीय प्रेमिकालाई उनको घरमा बिहे गरेर आफ्नो घर लान आफ्ना १८ जाना साथिहरु सँग गए तब उनिहरुलाई त्यहिँका बासिन्दाले लखेटे र उनिहरुको निर्मम प्रहार गरेर हत्या गरियो। करिब ३/४ दिन पछि उनिहरुको लास भेटियो। त्यसपछि सामाजिक संजालमा सरकारसँग न्यायको माग गर्दै बिभिन्न पोस्ट लेखियो। जब सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएन तब नेपालमा पनि सुरु भयो # दलित–लाइभ्स्–म्याटर ।

आज जातीयताको कुरा आइरहँदा यसको बितर्क गर्नेहरु पनि धेरै भेटिन्छन्। तर्कहरु बिभिन्न आइरहेका छन्। संविधानबाट नै ’दलित’ शब्द खारेज गरिनुपर्ने र कोटा जो गरिब छन् उनिहरुले पाउनुपर्ने भन्नेहरु धेरै छन्। तर शब्द हटाएर मात्र मनमा रहेको भाव परिवर्तन नहुने र कोटा कुनै गरिबी निवारण गर्न राखिएको हैन भनेर तर्क दिनेहरु पनि धेरै छन्।

बादविवाद गरेर बिद्वान हुने भए त संसारमा सबै बिद्वान हुन्थे। र यो जातीयताको बिबाद त नटुङ्गिने बिषय हो। जबसम्म यो बिषयमा सबैको एकमत हुँदैनन् तबसम्म तर्क बितर्क आइरहन्छन्। भेदभाव त हरेक कुरामा छ तर नजर तब मात्र आउँछ जब उत्पिडन को कुरा हुन्छ। हरेक प्राणीको जीवन उस्तै हो। यहाँ दलित मात्र जातीय बिबादमा परेका छैनन्, सबै जातका परेका छन्। दलितको ज्यान मात्र आवश्यक छ भन्ने होइन, बाहुनको ज्यान मात्र महत्वपूर्ण छ भन्ने होइन। ज्यान त सबैको उस्तै हो र सबै बराबर हुन।

न #दलित–लाइभ्स्–म्याटर न #ब्राह्मण–लाइभ्स्–म्याटर यहाँ #एभरी–लाइभ्स्–म्याटर भन्ने जबसम्म सबैको मनमा भावना आउँदैन तबसम्म #नन–लाइभ्स्–म्याटर ।

(यो लेख लेखक निराजन खतिवडाको व्यक्तिगत धारणा हो ।)

प्रतिक्रिया दिनुहोस्