विदेशी लगानीलाई प्रोत्साहन गर्न सिकौँ : सभामुख महरा



काठमाडौं : विदेशी लगानीलाई नेपाल भित्र्याउन प्रोत्साहन गर्न सिके मात्र देशको आर्थिक विकास हुने सभामुख कृष्णबहादुर महराले बताएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २, ताल्तीमा संचालन हुन लागेको ह्वासिन सिमेन्ट उद्योगको शिलान्यास गर्दै सभामुख महराले आफूमा भएको श्रोत साधनलाई सहि तरिकाले प्रयोग गर्न सके सिमेन्ट उद्योग नेपालकै ठूलो प्रतिष्ठा, पहिचानको रुपमा विकास हुने बताए ।

उद्योग शिलान्यास गर्दै सभामुख महराले प्रशस्त स्रोत साधन भएर पनि उद्योगको विकासमा नेपालले फड्को मार्न नसकेको बताए । ‘नेपालको स्रोत साधनको भरपुर उपयोग गर्नको लागि विदेशी लगानी आवश्यक रहेको छ’, सभामुख महराले भने, ‘विदेशी लगानी र नेपाली श्रम र सिप उपयोग गरेमा मात्रै आर्थिक समृद्धि सम्भव छ ।’ छिमेकी देशले दिएको सहयोग उठाउन नसके देशको लागि दुभाग्य हुने बताए । नेपालको आर्थिक क्षेत्रमा प्रचुर सम्भावना रहेको भन्दै सभामुख महराले श्रम, सीप लगानी गरे मात्र देशले कोल्टे फेर्न सक्ने बताए ।

भविष्यमा हुने प्रतिफलका आधारमा उद्योगको प्रवद्र्धन र संरक्षणमा ध्यान दिनुपर्ने उनले बताए । ‘उद्योग सुरु हुने कुरा महत्वपूर्ण हो’, सभामुख महराले भने, ‘त्यसलाई समृद्ध बनाउने, सहयोग गर्ने जिम्मा झनै महत्वपूर्ण विषय हो ।’ नेपालमा सिमेन्ट उद्योगको सम्भावना रहेको बताउँदै उनले नेपाल सरकारले तयार पारेको मापदण्ड अनुसार चल्नुपर्ने बताए ।

सिमेण्ट उद्योगले आफुलाई चाहिने कच्चा पदार्थ स्थानीय सामाग्रीको प्रयोग गरेर आफै उत्पादन गर्नुपर्नेमा जोड दिए । सरकारले चालेको समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सबै नेपालीले स्वागत गरेको र यसलाई सकारात्मक रुपमा हेर्न सबैलाई आग्रह गरेका छन् । यो अभियानको यात्रा कठिन भएपनि सबै नेपालीका लागि अति जरुरी रहेको उनले बताए ।

नेपालमा चिनियाँ लगानीकर्ताको आकर्षण वढाउने उदेश्यले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल सरकार र चिनियाँ सरकारबीच भएको भएको दुईपक्षिय सम्झौता अनुसार नेपालमा सिमेण्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी  बीच सहमती भएको थियो । उक्त कम्पनी स्थापना गर्नका लागि १५ अर्ब बराबरको वैदेशिक लगानी नेपाल सरकारको तर्फबाट लगानी वोर्डले स्वीकृत गरिसकेको छ । सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्ष रुपमा ३ सय जना र अप्रत्यक्ष रुपमा एक हजार जनाले रोजगारी पाउने पनि कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्