भाइरल ज्वराेका कारण पूरै गाउँ प्रभावित



पूर्वी नवलपरासी : गैँडाकोट–३ को हर्दिमा भाइरल ज्वरोका कारण गाउँ नै प्रभावित बनेको छ ।

 

गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले जाँचका क्रममा ज्वरोबाट प्रभावितको सङ्ख्या धेरै रहेको पाएको जनाएको छ । रगत परीक्षणका क्रममा ७८ जनामा भाइरल ज्वरोको सङ्क्रमण भेटिएको नगर स्वास्थ्य शाखाप्रमुख इन्द्रराज शर्माले बताए । 

स्वास्थ्य टोलीले सामान्य अवस्थाका बिरामीको हर्दिमै उपचार गरेको थियो भने केहीलाई स्वास्थ्यचौकीमा बोलाइएको छ । यसैगरी हर्दि गाउँमा रहेका पशुमा भ्यागुते रोग देखापरेको छ ।

 

भ्यागुते रोगले पशु बिरामी परेपछि नगर पशु शाखाबाट दुई जनाको टोलीले पशुको परीक्षण गरेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए । तिवारी केही दिनअघि हर्दि पुग्दा डेङ्गुका बिरामी देखिएपछि नगर स्वास्थ्य शाखामा जानकारी गराई टोली लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्