लकडाउनमा घरेलु हिंसा



स्वस्तिका दनुवार

संसारको जुन सुकै ठाउँमा गएपनि आफ्नो घर फर्किदा र परिवारसँग बस्न पाउँदा निकै खुशी प्राप्त हुन्छ । आफ्नो घर जतिको सुरक्षित स्थान सायदै अन्य कुनै होला । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको नियन्त्रण र संक्रमण रोक्नको लागि नेपाल सरकारले गत वर्षको चैत्र ११ गतेदेखि देशभर लकडाउन जारी गर्यो । यस अवधिमा अधिकांश मानिस आफ्नो परिवारसँग समय बिताउन पाउँदा खुशी छन् भने कतिपय घरमा हिंसा भइरहेको छ ।

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अर्काे कुनै सदस्यमाथि गरिने हिंसा हो । अर्काे शब्दमा भन्नुपर्दा परिवारका सदस्यद्वारा परिवारकै सदस्यविरुद्ध गरिने शारीरिक, मानसिक, आर्थिक सामाजिक र यौनजन्य क्रियाकलापहरूलाई घरेलु हिंसाको श्रेणीमा राखिएको छ । घरेलु हिंसा पीडितका रूपमा महिला, बालबालिका, पुरुष, एवं तेस्रोलिंगी जो कोही पनि हुन सक्छ । घरेलु हिंसाबाट मुलतः महिला नै पीडित भइरहेको पाइन्छ । वर्तमान समयमा घरेलु हिंसाले कुनै राष्ट्र विशेष मात्रको समस्या नभएर यो विश्व भरिकै समस्याको रूपमा अगाडि आएको छ । विभिन्न अनुसन्धानका अनुसार हरेक ३० जना महिलामध्ये ९ जनाले आफ्नै परिवारका सदस्यबाट दुव्र्यव्यहार भोगिरहेको हुन्छन् भन्ने तथ्य विभिन्न अध्ययन अनुसन्धानले सार्वजनिक गरेका छन् ।

सार्वजनिक निजी जीवनमा लिंगका आधारमा हुने हिंसाजन्य कार्य जसले महिलालाई शारीरिक, मानसिक वा यौनजन्य क्षति तथा पीडा पु-याउँछ, खासमा त्यस्तो कार्य गर्ने धम्की दवाव वा महिलाको स्वतन्त्रतामा बन्देज लगाउने कार्यसमेत यसमा पर्छ । यसका साथै विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन । विश्व परिवेशबाट नियाल्दा यस समस्याले विकराल रूप लिएको छ र कुनै पनि समुदाय यस्तो समस्याबाट अलग समेत हुन सकेको छैन । यस्तो समस्याका कारण विकासका कार्यमा पनि अगाडि बढ्न नसकेको कुरा हामी सजिलै अनुमान गर्न सक्छौँ । घरेलु हिंसा भोगिरहेका हरेक मानिसले शारीरिक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको छ । मूलरूपमा हिंसाबाट महिला नै पीडित भइरहेको सन्दर्भमा यसलाई महिलाविरुद्ध हुने हिंसाका रूपमा लिने गरिन्छ । वर्तमान सन्दर्भमा यसलाई कुनै राष्ट्र विशेष मात्रको समस्या मात्र भन्न सकिने स्थिति छैन् । नेपालको सन्दर्भमा खासगरी घरेलु हिंसाका प्रकृति हेर्दा खानलाउन नदिएको, गाली बेइज्जती गरेको, घरबाट निकाला गरिदिएको र मानसिक यातना दिएको जस्ता घटना छन् । पीडित हिंसाको सिकार हुनुपर्ने कारणमा परिवारका अन्य सदस्यसँग मनमुटाव, आर्थिक विपन्नता, विवाहेतर सम्बन्ध र अत्यधिक मध्यपान रहेको पाइन्छ ।

नेपालको सन्दर्भमा विभिन्न पिछडिएका या अविकसित स्थलहरूमा घरेलु हिंसाहरू देखिन्छन् । नेपालमा घरेलु हिंसा भोगिरहेका मानिसले शारीरिक आर्थिक मानसिक तथा यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ । सामाजशास्त्रीय मानवशास्त्रीय दृष्टिकोणमा हिंसा, सामाजिक व्यवस्था र संरचनाको उपजको रूपमा लिने गरिन्छ । यो पारिवारिक, स्थानीय, राष्ट्रिय सबै तहमा देख्न सकिन्छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाले समाजमा हिंसा बढेको छ । महिला भएको कारणबाट महिला माथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुव्र्यव्यहारहरूलाई लिन सकिन्छ । घरेलु हिंसा खासगरी हरेक देश, समाज, जाति, वर्ग र धर्ममा विभिन्न व्यवस्थाअनुसार व्याप्त रहेको छ । खासरूपमा भन्नुपर्दा घरेलु हिंसा सामाजिक रोगका रूपमा आएको पाइन्छ ।

घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ मा उल्लेख गरिएको परिभाषा अनुसार, कुनै पनि व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना एवम् सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पुर्याउने अन्य कुनै कार्यलाई समेत घरेलु हिंसा भनिएको छ ।

त्यसोत घरेलु हिंसाको पीडित महिला मात्र हुन्छन् भन्ने सोच्नु गलत भएता पनि अधिकांश मुद्दामा महिला नै पीडित भएको पाइन्छ । घरेलु हिंसामा महिलाहरु धेरै प्रभावित छन् भनेर भन्नु गलत हुँदैन ।

पछिल्लो समय लकडाउनमा विश्वभर घरेलु हिंसामा २० प्रतिशतसम्म वृद्वि भएको राष्ट्र संघले जनाएको छ । लकडाउनको समयमा एक त आर्थिक अभावको कारण घर चलाउन गाह्रो हुँदा परिवारकाे सदस्यबाट हिंसा भोग्नु पर्ने महिलाहरुको पीडा असाहय छ । हिंसा सहेर बसेका कतिपय महिलाहरुले उजुरी गर्न खोज्दैनन् जस कारण पीडकहरुको हिम्मत बढ्ने र झन् धेरै पीडा दिने गरेका छन् । हिंसा गर्नु अपराध हो भने हिंसा सहेर बस्नु पनि गलत हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।

राष्ट्रिय महिला आयोगको अनुसार लकडाउनको समयमा महिला हिंसाका उजुरी बढेको छ । २०७६ साल चैत्र ११ गतेदेखि २०७७ साल जेठ ३२ गतेसम्म राष्ट्रिय महिला आयोगमा ६ सय ४ वटा घटना दर्ता भएको छ जसमध्ये ७७ प्रतिशत अर्थात लगभग ४ सय ६५ घटना घरेलु हिंसासँग सम्बन्धित छ ।

पीडकलाई सजाय के छ त ?
घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ को दफा १३ अन्तर्गत यस्तो कसुर गर्ने व्यक्तिलाई तीन हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद सजाय वा दुवै सजाय हुन सक्छ । यदि कसैले घरेलु हिंसा गर्न सहयोग गर्छ वा अरुलाई गर्न दुरुत्साहन गर्छ भने सो व्यक्तिलाई मुख्य कसुरदारले पाएको सजाय को आधा सजाय पाउने छ । एक चोटी सजाय पाई सकेको व्यक्तिले यदि पुनः सो कसुर गर्दछ भने सो व्यक्तिले पटकै पिछे दोब्बर सजाय पाउने व्यवस्था पनि छ र यदि सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको व्यक्तिले घरेलु हिंसा गर्छ भने सो कसुरदारलाई १० प्रतिशत थप सजाय हुन्छ ।

पीडितलाई सहायता के छ त ?
घरेलु हिंसाबाट पीडित व्यक्तिलाई अस्पतालमा उपचार गराउनु परेमा उपचारको सम्पूर्ण खर्च पीडकले दिनुपर्दछ ।

घरेलु हिंसाको पीडित व्यक्तिलाई अदालतले पीडकबाट मनासिव क्षतिपूर्ति भराई दिन सक्नेछ ।

समाधान के होला त ?
जबसम्म पुरुष र महिलाबीचको भेदभाव अन्त्य हुँदैन र दुवैले समान अवसर पाउँदैन तबसम्म घरेलु हिंसा विधमान रहन्छ । हामीले सबैलाई समानताको दृष्टिकोणबाट हेर्नुपर्दछ । समाजमा रहेका व्यक्तिहरुले पीडितको सहयोग गर्नुपर्दछ र हिंसाबारे आवाज उठाउनु पर्दछ ।

घरेलु हिंसाको पीडितले मात्र उजुरी दिनुपर्ने नभएको हुँदा घरेलु हिंसा भएको, भइ रहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले पनि प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय तहमा लिखित वा मौखिक उजुरी दिन मिल्ने व्यवस्था हाम्रो कानुनले गरेको छ ।

यो महामारी को समयमा घरेलु हिंसा वा अन्य कुनै हिंसा को जानकारी दिन वा रिपोर्ट गर्न राष्ट्रिय महिला आयोगबाट सञ्चालित हेल्पलाइन नम्बर ११४५ मा हामी जो कोहीले पनि खबर दिन सक्छौँ ।

जबसम्म हामी आफैले घरेलु हिंसा बारे आवाज उठाउदैनौ तबसम्म यो हिंसा अन्त्य हुँदैन । त्यसैले सुरुवात हामी आफैबाट गरौँ । आफु पनि हिंसा नगरौ र अरुलाई पनि गर्नबाट रोकौँ । आफ्नो छरछिमेकमा यदि कसैमाथि हिंसा भएको जानकारी पाउने बितिकै खबर गरौँ । सबै जनाले आफ्नो घरमा भइरहेको हिंसा रोक्ने हो भने हाम्रो समाज घरेलु हिंसाबाट मुक्त हुन सक्दछ । सचेत नागरिक बनौँ र एक अर्काको सहयोग गरौँ ।

प्रतिक्रिया दिनुहोस्