‘क्याप्टेन’ को बम्पर व्यापार



नेपाली फिल्मका हिट मेशिन अनमोल केसीको फिल्म ‘क्याप्टेन’ यस वर्षको दोस्रो सबै भन्दा ठूलो ओपनिङ फिल्म बन्न सफल भएको छ । शुक्रवार बिहान देखि साँझ सम्म ७० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको फिल्मले शनिबार भने बिहानै देखि देशभर हाउसफुल व्यापार गरेको छ । राजधानी र मोफसलका अधिकांश सिंगल थिएटर र मल्टि प्लेक्सहरुमा फिल्मको व्यापार बम्पर छ । 

निर्माताले सर्वाधिक शेयर हात पार्ने मध्यम वर्गीय दर्शकको सर्वाधिक चाप रहने चावहिल स्थित गोपीकृष्णमा बिहान ११ बजे ३ वटा हल र दिउँसो २ बजेको सोजमा ५ वटा हलमा दर्शक खचाखच थिए । शनिबार दिउँसो साढे १ बजे हातमा राष्ट्रिय झण्डा बोक्दै अभिनेता अनमोल पनि गोपीकृष्ण हलमा प्रवेश गरेका थिए । उनलाई प्रहरीको भ्यानले स्कटिङ गरेर ल्याएको थियो । भने, ४ जना पर्सनल बडिगार्डले सुरक्षा दिएका थिए । १६ देखि २५ उमेर समुहका युवा दर्शकहरुको हलमा अत्याधिक भीड देखिएको थियो ।  

फिल्मका दुई नायिका प्रियंका एमभी, उपासना सिंह ठकुरी र प्रशान्त ताम्राकार पनि अनमोलको साथमा नै गोपीकृष्ण हल पुगेका थिए । अनमोलले आफ्ना फ्यानलाई ५ वटा फुटबलमा हस्ताक्षर गर्दै बालकुनीबाट फ्यालेका थिए । बल आफ्नो बनाउन दर्शक बीच तझाड मझाड नै चलेको थियो । 

फिल्म ‘क्याप्टेन’ले बुटबल, चितवन, पोखरा, विराटनगर लगायतका शहरमा बम्पर व्यापार गरेको रिपोर्ट आएको छ । यो फिल्म १ करोड ८० लाखको लागतमा निर्माण भएको हो । फिल्मले अब शिवरात्रीको विदामा बम्पर कमाई गर्ने विश्वास निर्माण टिमको छ । 

यस फिल्ममा अनमोल फुटबल खेलाडी इशानको भूमिकामा छन् । पिता (सरोज खनाल) को फुटबलबाट देशका लागि गोल्ड मेडल जित्ने सपना पूरा गर्न संघर्षरत मध्यम वर्गीय परिवारको एक युवकको कथामा फिल्म केन्द्रित छ । फिल्मबाट नायिका उपासनाले राम्रो सम्भावना देखाएकी छन् । फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् भने कथा सामिप्यराज तिमल्सिनाको रहेको छ  ।

 

प्रतिक्रिया दिनुहोस्