उपासना ‘कबड्डी ३’ मा



काठमाडौं : सुपरस्टार अनमोल केसीसँग काम गरे पछि हिरोइनहरुको भाग्य बन्छ भनिन्छ । उदाहरणको लागि नायिका साम्राज्ञी आरएल शाहलाई लिन सकिन्छ । फिल्म ‘ड्रिम्स’ गरेपछि उनले करियरमा फर्किएर हेर्नु परेको छैन । उनी अहिलेकी धेरै डिमान्डेड र महँगी नायिकामा पर्छिन् । अनमोलसँग काम गरेका अरु नायिकाहरुको भने खासै चर्चा सुनिदैंन । 

अब साम्राज्ञी पछि नेपाली फिल्ममा आफ्नो प्रभुत्व जमाउने संकेत नायिका उपासना सिंह ठकुरीले देखाएकी छिन् । उनको डेब्यू फिल्म ‘क्याप्टेन’ प्रदर्शन भइरहेको छ । फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । यस फिल्ममा उपासनाको कामको पनि राम्रो प्रशंसा भइरहेको छ । उनको अभिनय दर्शक र समीक्षक दुबैलाई मन परेको छ । 

उपासना गाउँले युवतीको भूमिकामा फिट देखिएकी छिन् । फिल्ममा उनको र अनमोलको जोडीलाई दर्शकले धेरै मन पराएका छन् ।  फिल्मको ‘रहर छ सँगै……’ बोलको गीत पछि नै उनको सुन्दरताको चर्चा सिनेवृतमा सुरु हुन थालेको थियो । फिल्ममा देखाएको उपासनाको कामले फिल्म उद्योगका लागि उदयिमानको छनक दिएको छ । अहिले धेरै फिल्म मेकरको आँखा उनी माथि पर्न थालेको छ । 

यसबीच, डेब्यू फिल्म पहिलो सातामा प्रदर्शन भइरहँदा उनलाई गिनेचुनेको ब्यानर सिनेमा आर्टस्को हिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी ३’ अफर आएको छ । उपासना केही दिनयता निर्देशक रामबाबु गुरुङसँग लगातार छलफलमा छिन् । गोप्य स्रोतका अनुसार उनी यस फिल्ममा अनुबन्ध भइसकेकी छन् । तर, उपासना फाइनल भने नभइसकेको बताउँ छिन् । 

उनले केही दिनमा फिल्म गर्ने र नगर्ने भन्ने टुंगो लाग्ने बताउँ छिन् । ‘कबड्डी’ को दुई सिरिजमा नायिका रेश्मा गुरुङ फिमेल लिड रोलमा थिइन् । यसपटक उनी नदोहोरिने बताइएको छ । उनलाई उपासनाले रिप्लेस गर्ने सम्भावना बलियो रहेको छ । यो फिल्ममा नायक प्रदीप खड्काको पनि प्रवेश हुने चर्चा छ । सबै ठिकठाक रहे उपासनाको जोडी उनीसँग बाँधिन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्