संविधान संशोधन हुन्छ : अध्यक्ष प्रचण्ड



विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्री मण्डल हेरफेर नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार साँझ संचारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्री मण्डल हेरफेर हुने विषयमा कुनै पनि छलफल नभएको स्पष्ट पारे ।

‘हामी दुई अध्यक्ष बीचमा यस विषयमा केही पनि कुरा भएको छैन,’ प्रचण्डले भने, ‘अहिले तत्काल मन्त्री मण्डल हेरफेर हुने सम्भावना पनि छैन् ।’ आवश्यकता अनुसार संविधान संशोधन हुन सक्ने बताउँदै उनले राष्ट्रिय जनता पार्टीसँग संविधान संशोधनका समयमा सहमति हुन सक्ने जानकारी दिए । उनले अहिल्यै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि बताए ।

‘राजपा अहिल्यै सरकार पनि जाँदैन,’ प्रचण्डले भने, ‘उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिदैन ।’ मुलुकमा बामपन्थी नमिलुन् र संविधान पनि कार्यान्वयन नहोस् भनेर एउटा शक्ति सक्रिय रहेको भन्दै प्रचण्डले त्यस्ता शक्तिलाई सरकारले गर्ने कामका माध्यमबाट उचित जवाफ दिएर परास्त गरिने बताए । कम्युनिष्टलाई टुटाउन र फुटाउन ठुलै शक्ति सक्रिय भएर लागेको उनको भनाइ छ ।

उनले भने, ‘अब तपाईहरू हेर्दै जानुहोला । सरकारले गति लिएको छ । सरकार मुलुकको विकास र समृद्धिमा केन्द्रीत भएको छ । त्यसको रिजल्ट चाँडै पाइने छ ।’ उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको व्यवस्थापन राजनैतिक र प्रशासनिक दुवै तरिकाले गरिने बताए । ‘सुरुमा सहमतिका लागि हामी प्रयास गर्छौ’ प्रचण्डले भने, ‘भएर भने प्रशासनिक उपाय पनि अवलम्बन गरिन्छ ।’ विप्लवको गतिविधीलाई प्रचण्डले अतिवादको संज्ञा दिएका छन् ।

सेना समायोजनका बेला चोरी भएका केही हतियार अहिले विप्लवका नेता कार्यकर्ताले बाहिर निकाल्न थालेको उनको भनाइ छ । ‘हतियार व्यवस्थापन र सेना समायोजनका बेला केही हतियार चोरी भए भनेर हामीले त्यतिबेला सरकारलाई जानकारी पनि गराएकै हो,’ प्रचण्डले भने, ‘अतिवादलाई बोकेर हिंडेको एउटा समूहले अहिले त्यही हतियार बाहिर निकालन थालेको रहेछ ।’ उनले आफू काठमाडौं फर्किएपछि पार्टी एकता प्रक्रियाको बाँकी कामलाई अघि बढाउने जानकारी पनि दिए । ‘हामी दुवै अध्यक्षको भेट भोली पूर्वमै हुन्छ,’ प्रचण्डले भने , ‘यहाँबाट दुवै जना फर्किएपछि पार्टी एकताका बाँकी काममा लागिने छ ।’ मुलुकमा भएका ठूला घटना र दुर्घटनाले केही दिन पार्टी एकताको प्रक्रिया थोरै अलमलमा परेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्