प्रदेश २ : सञ्चार विधेयक संशोधन सहित सर्वसहमतिले पारित



जनकपुरधामः प्रदेश २ को आज (शनिबार) बसेको प्रदेशसभा बैठकले प्रदेश सञ्चार विधेयक सर्वसहमतिले पारित गरेको छ ।

सदनमा प्रस्तुत भएको झण्डै २ वर्षपछि सञ्चार विधेयकलाई सर्वसहमतिबाट पारित गरेको हो । प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको सञ्चार विधेयकमाथी संचारकर्मीहरुले बिरोध जनाएपछि केही दफामा संशोधन गर्दै सञ्चार विधेयकलाई पारित गरिएको हो । प्रदेश सरकारले शुरुमा ल्याएको विधेयकमा गलत सूचना प्रवाह गर्ने सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई जरिवाना गर्ने लगायतको दफामा चौतर्फी आलोेचना भएपछि केही धारामा संशोधन गर्दै केही धाराहरु हटाइएको समेत आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

विधेयकबाट ५० लाखदेखि १ करोडसम्मको जरिवानाको व्यवस्थालाई हटाएर १० देखि २० हजारसम्म जरिवाना कायम गरिएको छ । त्यस्तै मन्त्री यादवका अनुसार विधेयकबाट दफा ७, र दफा ९ हटाइएको छ भने दफा ४२ मा उल्लेख रहेको काउन्सिलको पदाधिकारीलाई चेतावनी, निलम्बन तथा पदमुक्त गर्न सक्नेबाट ‘निलम्बन’ तथा ‘पदमुक्त’ शब्दलाई हटाइएको छ । त्यस्तै विधेयकबाट ६३,६४,६८ र ६९ लगायतका दफाहरु संशोधन गरिएको मन्त्री यादवले बताए ।

विधेयकमा यसअघि ‘प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने विषय’मा समाचार लेखेकोमा कसुरको मात्रा हेरेर ५० लाखदेखि १ करोडसम्म जरिवाना गर्नसक्ने प्रावधान राखिएको थियो । प्रदेश सरकारले सञ्चार विधेयकमा ५० लाखदेखि १ करोडसम्मको जरिवाना तोक्नसक्ने व्यवस्था राखेपछि पत्रकार महासंघले चरणबद्ध रुपमा विरोध समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्