रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव



चितवन : नेपालीको महानपर्व बडादसैंमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् ।  

 

मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा. गङ्गा सापकोटाले पोलेको मासुले आमाशयमा क्यान्सरको जोखिम बढी हुने बताइन् ।    

 

अन्य खानाको तुलनामा यस्ता खानेकुराबाट दुई गुणा बढी क्यान्सरको जोखिम हुने उनको भनाइ छ । मुख्यरुपमा पोलेका, तारेका, रसायनको प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीनरुपमा मानिसमा क्यान्सर हुने सम्भाबना हुन्छ ।

   

रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउदा कार्सिनोजेनिक तत्व उत्पादन हुने र यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा यस्ता मासु नखान उनले सुझाव दिइन् ।    

 

धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाइ बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्छ । त्यसो त बढी मासु प्रयोग हुने बेला मानिसले सुर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्दछन् ।   

 

 अलग-अलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने गर्दछ । धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने विज्ञहरु बताउँछन् ।   

 

सोही अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विनय ठाकुरले मासु, मदिरा, सुर्तीजन्य पदार्थको प्रयोग क्यान्सर रोगका लागि कारक हुने बताए । चाडपर्वका समयमा यस्तापदार्थ सेवन गर्दा हरियो सागपात, फलफूल, पानी प्रशस्त खान उनको सुझाव छ ।   

 

विज्ञहरुले चाडपर्वका बेला सेतो मासु प्रयोग गर्न सुझाव दिएका छन् । चराजन्य मासु, जस्तै हाँस, कुखुरा, बट्टाई, अस्ट्रीजका साथै माछा खान उनीहरुले सुझाएका छन् ।    

 

अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीले खानपिनकै कारण ७० प्रतिशतसम्म क्यान्सर हुने बताए ।    राम्रो खानपिन भएका ठाउँमा खानाका कारण १० प्रतिशत क्यान्सर हुन्छ भने अनियन्त्रित खानपिन भएको ठाउँमा यो प्रतिशत ७० पुग्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्