नागरिकता विधेयकको विरोधमा महिला संघद्वारा जनकपुरमा विरोध प्रदर्शन



जनकपुरधाम– नेकपा नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

नेकपा नेतृत्वको सरकारको महिला विरोधी विभेदपूर्ण विधेयक विरुद्ध नेपाल महिला संघकी उपाध्यक्ष सुरिता सिंहको नेतृत्वमा नेपाली कांग्रेसको पार्टी कार्यालयबाट विरोध रयाली निकालिएको महिला संघकी केन्द्रिय सदस्य निलम कर्णले बताईन् ।

पार्टी कार्यालयबाट निकालिएको विरोध रयाली क्याम्पसचोक, मुरलीचोक, रामचोक हुँदै जनकचोकमा गई कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेपाल महिला संघकी क्षेत्रिय सचिव सम्झना वर्माले नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाईन । उनले विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिईन् ।

प्रदर्शनको क्रममा महिलाहरुले बैबाहिक अंगिृकत नागरिकताको सात वर्षे प्रावधान खारेज गर,महिलामाथिको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, मधेशीमाथीको अत्याचार बन्द गर लगायतका नारा लगाएका थिए ।

रयालीमा प्रदेशसभा सदस्य प्रमिला दास,नेपाल महिला संघकी केन्द्रिय सदस्य निलम कर्ण,जिल्ला सदस्य अनिता श्रीवास्तव, क्षेत्रीय सचिव सम्झना वर्मा, महिला नेतृ किरण झा, रिंकू साह, अंजना चौधरी, सीता श्रेष्ठ, बबिता श्रेष्ठ, गिता भण्डारी लगायतकाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्