मुख्यमन्त्री भट्टद्वारा धान दिवसको शुभकामना



धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धान दिवसको शुभकामना दिएका छन् ।

उनले धान दिवस तथा रोपाईं महोत्सवका अवसरमा सम्पूर्ण नेपालीहरुलाई धान दिवसको शुभकामना दिएका हुन् ।

शुभकामना सन्देश सार्वजनिक गर्दै उनले धान हाम्रो प्रमुख उत्पादन र मुख्य कृषि बाली भएको भन्दै किसानको प्रोत्साहन स्वरुप सरकारी स्तरबाट मनाइने रोपाइँ महोत्सव कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण धुमधामले मनाउन नसकिए पनि प्रदेश सरकार सदैव किसानकै साथमा रहेको बताए ।

(कोभिड-१९) ले आक्रान्त विश्वको अर्थतन्त्र र जनताको जिविकामा ठूलो असर पुर्याएको भएपनि कृषिबाट यी असरहरु कम गर्न सम्भव हुने स्पष्ट रहेकाले प्रदेश सरकारले कृषि क्षेत्रको विकास र वृद्धिलाई जोड दिएको उल्लेख गरे ।

भोकमरीको सामना गर्दै आएको सुदूरपश्चिममा जनताको राष्ट्रिय आकांक्षा हाँसिल गर्ने मूल आधार खाद्यान्नमा आत्मनिर्भरता ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेशिनीकरण गर्न ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम’, ‘नमुना कृषिगाउँ आफै बनाउँ’ जस्ता बहुआयामिक कार्यक्रमलाई सफल पार्दै प्रदेशमा कृषि क्षेत्रमा एउटा क्रान्ति ल्याउनु छ भन्ने कुरालाई मन्तव्यमा उल्लेख गरेका हुन् ।

‘त्यस दिशामा अझ संवेदनशीलताका साथ सोचविचार गरी अघि बढ्न म सबैमा आग्रह गर्दछु । यस वर्षको धान दिवस उत्साहका साथ मनाउन सम्पूर्ण नेपाली यस दिनले कृषि उत्पादन बढाउने राष्ट्रिय आवश्यकता र प्राथमिकता अनुरुप अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।’ शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्