पर्सामा स्वाचालित मेसिनबाट रोपेर धान दिवस मनाईयो



वीरगन्जः धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित कृषि ज्ञान केन्द्र पर्साले १७ औं राष्ट्रिय धान दिवस मनाएको छ ।

पर्सामा ८ लेनको स्वचालित मेसिनबाट धान रोपेर कृषि ज्ञान केन्द्रले धान दिवस मनाएको हो । हातले धान रोप्ने परम्परा रहँदै आएपनि प्रविधिको विकाससँगै स्वचालित मेसिनले धान रोप्न सकिने भने जागरुक गराउँनको लागि स्वचालित मेसिनबाट धान रोपिएको हो ।

कृषि औजार अनुसन्धान केन्द्र परिसरमा रोपाइँका लागि तयार पारिएको खेतमा मेसिनले धान रोपिएको थियो । केन्द्रले मेसिन तीन वर्षदेखि परीक्षण मूल्यांकन गर्दै आएको छ । केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्रले बेर्नादेखि बेर्नाको दुरी १४ देखि १६ सेन्टिमिटरसम्म हुने भएकोले मेसिनले कम गाँज दिने धान लगाउन समेत उपयोगी हुने बताए ।

उनले मेसिनले विभिन्न जातका धान लगाएर परिक्षण गरीसकेको छौं मेसिन एकदम राम्रो रहेको बताए । उनले भने, एक लिटर डिजेलमा एक घण्टामै १० कठ्ठामा एकै पटक आठ लेनमा धान लगाउँन सक्छ । ६ देखि ६.५ टन प्रति हेक्टर उत्पादन दिइरहेको हुनाले किसानमा यो मेसिन लैजाने तयारी भइरहेको समेत उनले बताए ।

पछिल्लो समयमा कृषि क्षेत्रमा मजदुरको समस्या बढी देखिएको छ । मेसिनले त्यो समस्या समाधानमा सहयोग पु¥याउने दाबी अनुसन्धानमा संलग्न कृषि वैज्ञानिकको छ । मेसिनबाट धान रोप्दा ८० मानिस दिन प्रति हेक्टर बचत हुन्छ । पारम्परिक कृषक तरिका भन्दा लागतमा ५० प्रतिशत, समयमा ७० प्रतिशत बचत हुने दाबी उनले गरे ।

औजार अनुसन्धान केन्द्र १ दशमलब ७ हेक्टरमा फैलिएको छ जसमा १ हेक्टर जति जमिनमा कृषि सम्बन्धि विभिन्न अनुसन्धान गर्ने गरिएको छ । केन्द्रले मेसिन किनेर र आफैंले बनाएर पनि अनुसन्धान गर्दै आएको छ । केन्द्रमा अनुसन्धान तथा परीक्षण गरिसकेपछि किसान माझ लगेर हेराउने र किसानले ठिक छ भनेपछि मात्रै सिफारिस गर्ने गरिएको छ ।

पर्सा जिल्लामा चालु आर्थिक वर्ष २०७६-७७ मा ४५ हजार हेक्टरमा धान खेती गरिएकोमा प्रतिहेक्टर ४.८ मेट्रिक टनको हिसाबले २ लाख १६ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । अगामी आर्थिक बर्ष २०७७-७८ मा ४६ हजार ५ सय हेक्टरमा धानखेती गरिने अनुमान गरिएको छ ।


जसअनुसार प्रतिहेक्टर ५.५ मेट्रिक टनको हिसाबले २ लाख ५५ हजार ७ सय ५० मेट्रिक टन धान उत्पादन गरिने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साले जारी गरेको तथ्याँकले देखाएको छ ।
उचित किसानको पहिचान, अनुदानको मल पाउन समस्या, सिचाईको समस्या तथा जनशक्ति पलायन जस्ता विविध समस्याले गर्दा पर्सामा कृषि क्षेत्र फस्टाउन नसकेको ज्ञान केन्द्रका प्रमुख रामचन्द्र यादवले बताए । उनले भने, प्रदेश २ का ७० प्रतिशत भन्दा बढि नागरिक कृषिमा आत्मनिर्भर रहेतापनि कृषि क्षेत्रलाई प्रोत्साहनको निम्ति प्रदेश सरकारको लगानी खासै देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्