टीकापुर घट्नाको बहस सकियो, फैसला बुधबार



धनगढी : कैलालीको टीकापुरमा साढे तीन वर्ष पहिले सुरक्षाकर्मी र नावालकसहित आठ जनाको ज्यान जाने गरी भएको नरसंहार मुद्दाको बहस मंगलबार सकिएको छ । गत बुधबार कैलाली जिल्ला अदालतमा सुरु भएको मुद्दाको बहस चार दिनपछि सकिएको हो । लामो अध्ययन र र अनुसन्धानपछि बुधबारका लागि पेशी तोकिएकोमा न्यायाधीश परशुराम भट्टराईको इजलासमा चार दिन बहस चलेको हो।

जिल्ला अदालतका श्रेस्तेदार इन्द्र कठायतले चार दिन भएको बहस मंगलबार सकिएको जानकारी दिए । उनका अनुसार उक्त मुद्दामा बादी अर्थात सरकारी पक्षबाट दुई जिल्ला न्यायाधिवक्ता तथा प्रतिबादी अर्थात अभियुक्तका तर्फबाट १२ गरी १४ कानुन व्यवसायीले बहस गरेका छन् ।

बहस सुरु भएको पहिलो दिन बुधबार नै संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा परी ज्यान गएपछि बिहीबार राष्ट्रिय शोक तथा त्यसपछि पनि एक दिन बिराएर बिदा भएकाले मुद्दाको बहस लम्बिएको हो । मुद्दाको लामो बहस भइसकेकाले सम्भवत् बुधबार नै फैसला हुन सक्ने देखिएको छ । घट्नाबारे थप केहि बुझ्नुपर्ने देखिए फैसला रोकिन सक्छ । अदालतमा यसअघि साउन ३० गते पहिलो पटक मुद्दा पेशीमा चढेकोमा त्यो दिन बादी र प्रतिबादी दुवै पक्षलाई साक्षीसहित भदौ २४ गते अदालतमा उपस्थित हुन आदेश दिइएको थियो । यसअघि म्याद तामेली हुन नसक्दा मुद्दाको सुनुवाईको प्रक्रिया सुरु भएको थिएन ।

थरुहट–थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी एक नाबालकसहित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेलगायत सात प्रहरीको ज्यान गएको थियो । एक घाइतेको उपचारका क्रमममा ज्यान गएको थियो । घट्नाका आरोपित भनिएका सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकी २३ लाई कैलाली कारागारमा राखिएको छ ।

घट्नामा संलग्न भनिएका मध्ये २२ जना अझैँ फरार छन् । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ । प्रदर्शनकारीले बरिष्ठ प्रहरी उपरीक्षक सहितको टोलीलाइ खुकुरी, भाला र बञ्चरो लगायतका घरेलु हतियार प्रहार गरि हत्या गरेका थिए । घट्नामा न्यौपानेसहित प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्दले ज्यान गुमाएका थिए ।

यस्तै सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीको पनि घटनामा मृत्यु भएको थियो । सोहि घट्नामा दुई वर्षीय बालक टेकबहादुर साउदको पनि ज्यान गएको थियो । लामो समयसम्म अदालतमा बिचाराधिन भएको टीकापुर नरसंहारको मुद्दाको कस्तो फैसला हुन्छ भन्ने धेरैले चाँसोको रुपमा हेरेका छन् । 

प्रतिक्रिया दिनुहोस्