शहीदको सपना पुरा गर्न पार्टी एकता : प्रधानमन्त्री ओली



झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको सपना पुरा गर्न पार्टी एकता गरिएको बताएका छन् । ४६ औं सुखानी स्मृति दिवशको अवसरमा मंगलबार झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरूलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको प्रधानमन्त्री ओलीले स्मरण गरे ।

“म भागेर बचें नत्र त्यती बेला म पनि मारिन सक्थें” ओलीले भने, “हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।” प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरू त्यसपछिका कम्युनिष्ट आन्दोलनले पुरा गरेको बताए ।

“झापा आन्दोलनका शहीद मात्र होइन गणतन्त्रका लागि लडेका सबै सहिदहरूको योगदान महत्वपूर्ण छ” प्रधानमन्त्री ओलीले सुखानीबाट भने, “म यही शहीद भूमीबाट भन्न चाहन्छु तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी)को पार्टी एकता पनि शहीदका सपना पुरा गर्नका लागि भएको हो ।” प्रधानमन्त्री ओलीले लुटपाट गर्ने, चन्दा उठाउने धन्दा गर्ने समुहलाई कम्युनिष्ट भन्न नसकिने बताए ।

“जनतालाई चक्कु देखाएर कम्युनिष्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस्” ओलीले भने, “म यो सहिद भूमीबाट फेरी एक पटक आह्वान गर्छु ,कोही वास्तविक कम्युनिष्ट हुनुहुन्छ भने नेकपा आएर समाहित हुनुहोस् ।” प्रधानमन्त्री ओलीले सरकारले देशै भरी विकासको माहोल ल्याएको बताए । “केही तत्वहरूले जनता भाँड्न सरकारले केही गरेन भने पनि सरकार विकास, निर्माण,सुशासनमा जिम्मेवारीपूर्वक लागि परेको हो ।” प्रधानमन्त्री ओलीले सुखानी शहीदको सालिकमा माल्यापर्ण गरेका थिए ।

२०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुंइकेल, विरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो । कार्यक्रममा नेकपाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्