सुदूरपश्चिममा सलह देखिएपछि प्राविधिक टोली निरीक्षणमा, विषादी जालको प्रयोग गरी भगाउन आग्रह



धनगढीः नेपाल प्रवेश गरेको सलह किरा सुदूरपश्चिममा देखिएपछि कृषि प्राविधिको टोली निरीक्षणमा खटिएको छ ।

प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि प्राविधिकको टोली आज कैलालीका विभिन्न क्षेत्रमा पठाएको छ ।

प्रदेशको भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले कैलालीका विभिन्न स्थानमा सलह किरा देखिएको गुनासो आएपछि प्राविधिकको टोली पठाइएको बताएका छन् ।

उनले भने,‘अहिलेसम्मको जानकारीमा कैलालीमा भित्रिएको सलह किरा ठूलो झुण्डमा छैन, कुनै झुण्डबाट छुट्टिएर कैलाली पुगेको हुन सक्छ । साँझसम्म प्राविधिक टोली फर्किएपछि विस्तृत जानकारी आउँछ ।’

फिल्डमा खटिएका प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी जनकराज बोहराले घोडाघोडी र लम्कीचुहा नगरपालिकाका विभिन्न क्षेत्रमा निरिक्षण भईसकेको बताउँदै जानकी, कैलारी र जोशीपुरमा पनि निरिक्षण गर्ने तयारी रहेको बताएका छन् ।

उनले झुण्डमा सलह किरा नदेखिएको जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह (फट्यांग्रा) संकलन गरेर ल्याए २५ रुपैयाँ दिने यसअघि निर्णय गरेको छ ।

कैलालीको टीकापुर लम्कीचुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका भएर सलह भित्रिन सक्ने भएकाले ४ तहमा क्षति कम गर्न आवश्यक तयारी पनि थालिएको कृषि मन्त्रालयले जनाएको छ । सलह आएर बाली खान थालेमा होहल्ला गरेर भगाउन तथा विषादी, जाल आदिको प्रयोग गर्न कृषकहरूलाई मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्