विजयादशमीको शुभ साइत ९: ५१ मा



काठमाडौं : आज आश्विन शुक्ल दशमी अर्थात् विजयादशमी, देशभर हिन्दूहरुले हर्षोल्लासपूर्वक मनाउँदैछन् । 

 

दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टिका तथा जमरा लगाइँदैछ । 

आज विजयादशमीको टिकाको शुभसाइत बिहान ९:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

 

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको र शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको सम्झनामा मनाउने गरिन्छ । 

 

स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा मान्यजनबाट थापेर आशिर्वाद लिने गर्छन् ।  

प्रतिक्रिया दिनुहोस्