पार्टीको सार्वजनिक कार्यक्रममा किन आउन छाडे नेता राजकिशोर यादव र अनिल झा ?



काठमाडौं : पार्टी एकीकरण प्रक्रियामा असन्तुष्ट जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव र अनिल झा संयुक्त रुपमा जनता समाजवादी पार्टी स्थापना भएको दिनदेखि पार्टीको मूल बैठक लगायत पार्टीद्वारा घोषणा गरिएको प्रायः कार्यक्रममा देखिन छाडेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी पार्टीबीच एकीकरण भई जसपाको घोषणा भएको थियो । राजपा अध्यक्ष मण्डलका अध्यक्ष रहेका यादव र झा निकटका नेतालाई एकीकृत जसपाको केन्द्रीय समितिमा नराखेपछि उनीहरु असन्तुष्ट बनेकै कारणले पार्टीसँग असन्तुष्ट भई उनीहरु पार्टीका कार्यक्रमहरुमा सहभागि छाडेका हुन् ।

राजपा अध्यक्ष मण्डलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारी निकटका नेताहरु जसपा केन्द्रीय समितिमा अटेको भए पनि यादव र झा निकटका एकजना नेतालाई पनि नराखिएको गुनासो गर्दै उनीहरु पार्टी कार्यक्रममै आउन छोडेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल फुटाउन मिल्ने गरी विधेयक ल्याएपछि १० वैशाखमा राजपा र समाजवादी पार्टीबीच मध्यरातमा एकीकरणको घोषणा भएको थियो । त्यतिबेला यादव र झा अनुपस्थित रहेका थिए । त्यस यता पार्टी निर्वाचन आयोगमा दर्ताका लागि समेत उनीहरु आयोगमा सहभागि भएनन् ।

नागरिकता विधेयकमा गरिएको प्रस्ताव प्रति असमति व्यक्त गर्दै जसपा देशैभरी १६ असारमा आन्दोलनका कार्यक्रम गर्यो । पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार १६ असारमा काठमाडौंमा जसपाले विरोध र्याली प्रदर्शन गर्यो । काठमाडौंको कार्यक्रममा जसपा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेतात्रय अशोक राई, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरु सहभागि भए पनि यादव र झा काठमाडौंमै भए पनि सहभागि भएनन् ।

नाम उल्लेख नगर्ने सर्तमा राजपा स्रोतका अनुसार पार्टी एकीकरण प्रक्रियामा असन्तुष्ट रहेका यादव र झा निकटका नेतालाई केन्द्रीय समितिमा राख्ने आन्तरिक सहमति भएको छ । ५३ सदस्यीय केन्द्रीय समितिमा यादव र झा निकटका एक जना पनि नेता नपरेपछि उनीहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

जसपामा अहिले पनि नेताहरुको मर्यादाक्रम नमिलेको, आफू कमिटीमा नपरेको, आफू निकटका नेतहरुलाई मात्र काखी च्यापेको भन्दै पार्टीभित्र असन्तुष्टि रहेको छ । केन्द्रीय समिति र पदाधिकारीको टुंगो लगाउँदै निर्वाचन आयोगमा नामावली बुझाइए पनि ति निकायको बैठक विवादकै कारण बस्न सकिरहेको छैन ।

राजपा स्रोतका अनुसार यादव र झाका एक÷एक जना नेता केन्द्रीय समितिमा राख्ने सहमति भएको छ । जसपा पदाधिकारी ठाकुर, यादव, राई, भट्टराई, महतोसहितका नेताहरुसँग यादव र झाको भएको आन्तरिक छलफलले यस्तो सहमति जुटेको स्रोतको दाबी छ ।

जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता डा. भट्टराई निकट ८–८ जना नेताहरु केन्द्रीय समितिमा परेका छन् । वरिष्ठ नेता महतो निकटका ७ र अर्का अध्यक्ष यादव निकटका ५ जना नेता केन्द्रीय समितिमा परेका छन् ।

वरिष्ठ नेता राई निकटका ६, महेन्द्रराय निकटका ३, शरतसिंह भण्डारी निकटका २, युवराज कार्की निकटका १ जना नेता मात्रै केन्द्रीय कमिटीमा परेका छन् । तर, यादव र झा निकटका एक जना नेता पनि केन्द्रीय समितिमा परेका छैनन् ।

यादव र झा जस्तै गुनासो महेन्द्रराय र भण्डारीले समेत गर्दै आएका छन् । तर आउँने दिनमा पार्टीको अन्य निकायमा सबै नेताहरुको व्यवस्थापन गर्दै अगाडि बढने नेताहरुबीचमा भद्र सहमति भएको छ ।

प्रकाशित : असार १८, २०७७

प्रतिक्रिया दिनुहोस्