जनकपुरमा तिन दिनदेखि बेपत्ता एक बालिकाको शव फेला, बलात्कारको आशंकामा अघोरी बाबा पक्राउ



जनकपुरधाम: आज (शुक्रबार) बिहान जनकपुरधाम उपमहानगरपालिका वडा न.२१ कुर्थास्थित दुधमती नदीको किनारमा ११ वर्षीया बालिका कञ्चन कुमारी पजियारको शव मृत अवस्थामा फेला परेको छ ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् । अहिले घटनास्थलमा प्रहरीले तारबार गरी घटनास्थललाई सिल गरेको छ । खेतमा धानको विउ रोपिरहेका एक किसानलाई दुधमती नदीको किनार तर्फबाट गन्ध लागेपछि उनले त्यहाँ हेर्न जादाँ सो बालिकाको शव देखेपछि प्रहरी र स्थानीवासीलाई जानकारी गराएका थिए ।

बुधबार दिउँसो भैंसी चराउन गएकी बालिकालाई अबेर रातिसम्म गाउँ भर खोजविन गर्दा पनि नभेटिएपछि परिवारजनले बिहीबार विहानै अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी समेत दिएका थिए ।

मृतक बालिकाकी काका विजय पजियारले कञ्चन बुधबार दिउँसो भैंसी चराउन चौर तर्फ गएको र अबेर साँझसम्म घर नआउदाँ आफुहरुलाई शंका लागेको बताए ।

उनले भने,‘ बुधबार साँझ एकजना आफन्त कहाँ भोज थियो, हामीले कञ्चन त्यही गएको हुनुपर्ने आशंका गर्यौँ र चौरमा गएर उनकी बुवा उमेश पजियारले भैसी ल्याए, अबेर रातिसम्म पनि सबै ठाउँमा खोजविन गर्यौँ । तर कतैपनि नभेटिएपछि बिहिबार विहान स्थानीय अस्थायी प्रहरी चौकीमा उजुरी गर्यौँ र खोजविन पनि जारी राख्यौँ ।’

एकाएक आज एक किसानले घरमा आएर नदीको किनारमा फालिएको अवस्थामा छोरीलाई हेरेको बताएपछि आफुहरु छोरीलाई खोजविन गर्ने क्रममा पानी परिरहेको र सो क्रममा अघोरी बाबाको कुटीमा पानीबाट बच्नका लागि भित्र पस्न खोज्दा उनले हामीलाई कुटी भित्र छिर्न नदिएको मृतककी पिता उमेशले बताए । छोरीको शव हेर्दा हत्या गरेर बलात्कार गरिएको उनले आशंका व्यक्त गरे ।

स्थानीय दिनेश साहले बालिकाले जिउमा गंजी मात्रै लगाएको र शरिर भरी रगताम्य रहेको शव नदी किनारमा देखिएकाले बलात्कार गरी हत्या गरेको आशंका व्यक्त गरे ।

उनले भने,‘लकडाउन अवधि देखि गाउँ वरिपरी रहेका चौर र आँप बगैचामा गाउँ बाहिरबाट युवाहरु आएर त्यहाँ बसिरहेका थिए । उनीहरु जस्ता मादक तथा लागुपदार्थ सेवन गर्नेहरुले नै यस्तो गलत कार्य गरेको हुनुपर्दछ ।’

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले प्रारम्भिक अनुसन्धानका लागि एक अघोरी बाबालाई समातिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्