प्रदेश २ को प्रोफाइल (पाश्र्वचित्र) सार्वजनिक



जनकपुरधामः प्रदेश २ को नीति आयोगले प्रादेशिक प्राश्र्वचित्र (प्रोभिन्सियल प्रोफाइल) सहित चारवटा पुस्तक सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज (शुक्रबार) आयोजित एक कार्यक्रमका बिच प्रदेश नीति आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले उक्त पुस्तकहरु सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री राउतले प्रादेशिक पाश्र्वचित्र २०७७, प्रदेश अनुगमन तथा मुल्यांकन मार्गदर्शन २०७७, प्रदेश योजना तथा कार्यक्रम मार्गदर्शन २०७७ र प्रदेश स्तरमा दिगो विकासका लक्ष्यहरुको आधारशिला प्रतिवेदनलगायतका पुस्तकहरु सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री राउतले नीति आयोगद्वारा प्रकाशित पुस्तकहरु प्रदेशको नीति निर्माणका साथै विकास निर्माणका योजनाहरुलाई प्रभावकारी बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले भने,‘तथ्य र तथ्यांक विना विकास निर्माणलाई प्रभावकारी बनाउन सकिदैन,त्यसै कुराहरुलाई दृष्टिगत गर्दै यी पुस्तकहरु ल्याइएको छ र यसले अगामी दिनहरुमा योजना बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले पुस्तकहरुको प्रकाशनमा प्रदेश सरकारको सबै निकायले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले प्रदेश सरकारको यो पहिलो प्रयास रहेको बताउँदै आगामी दिनमा यसलाई अझै परिस्कृत गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादव,मुख्यन्यायधिवक्ता दिपेन्द्र झा,मुख्यमन्त्रीका स्वकीय सचिव जितेन्द्र यादव सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्