राजधानी कोरोना संक्रमणको उच्च जोखिममा



बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् । राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा कोरोना भाइरस देखिएपछि सरकारले स्थानीय संक्रमण भएरनभएको यकिन गर्न शनिबारदेखि नमुना संकलन सुरु गरेको छ ।

‘शनिबार हामीले तीनकुनेमा १ सय १८ जनाको र नख्खुमा १ सय १० जनाको घाँटीको र्‍यालको नमुना संकलन गरेका छौं,’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा।वासुदेव पाण्डेले भने, ‘दुई–चार दिनभित्रै वडाध्यक्षसँगको समन्वयमा अन्य १० ठाउँसमेत गरी १ हजार २ सय नमुना संकलन गर्नेछौं ।’ धेरै भिडभाड हुने र संक्रमितहरु घुलमिल हुनसक्ने सम्भावित स्थानमा आवतजावत गर्नेहरुको स्वाब परीक्षण गरिने उनले बताए ।

उनका अनुसार काठमाडौंका तीनकुने, शंखमुल, कपन, टोखा, ललितपुरका खुसिबु, नख्खु र भक्तपुरका केही स्थानमा समुदायमै गएर अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ । उनका अनुसार काठमाडौंमा १ सय ९, भक्तपुरमा २८ र ललितपुरमा १७ जना संक्रमित छन् ।

भैंसेपाटीमा साढे दुई वर्षे बालकमा कोरोना पोजिटिभ देखिएको थियो । ती बालक र उनका आफन्तको भ्रमण इतिहास थिएन । ‘कतै नगएकामा कोरोना देखिएपछि हामीले ती व्यक्तिको विस्तृत अध्ययन गर्नैपर्छ’, डा।पाण्डेले भने, ‘आखिर कतै न कतै त उहाँहरू संक्रमित व्यक्तिको सम्पर्कमै आएर यो भाइरस बोक्नुभएको होला ।’ उनले संक्रमणको अवस्था थाहा पाउन कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । ‘हामीले ‘स्थानीय तहमा संक्रमण’ अवस्थाबारे थप जान्न स्क्रिनिङ सुरु गरेका छौं, अहिलेसम्म राजधानीमा मात्र होइन, मुलुकभर नै समुदायमा संक्रमण नगएको अवस्था हो ।’

काठमाडौंको ढलमा देखियो कोरोना भाइरस

सेन्टर फर मोलिक्युलर डायनामिन नेपालले राजधानीको ४ वटा ढलको नमुना लिएर परीक्षण गर्दा दुईवटा नमुनामा कोरोना भाइरस देखिएको जनाएको छ । यो अनुसन्धानले संक्रमित व्यक्तिको दिसामा कोरोनाको भाइरस देखिन्छ । यो परीक्षणको अनुसन्धानकर्ता डा।दिवेश कर्माचार्यका अनुसार घना मानवबस्ती भएको ठाउँको ढलबाट नमुना संकलन गरिएको थियो । नमुना संकलन गरिएको हरेक ढलमा १०० देखि ५०० घरको ढल मिसिने गरेको थियो । नमुना संकलन गरिएको ढलबीच खास दूरीसमेत कायम गरिएको थियो ।

‘हामीले ४ मध्ये दुईवटा ढलको नमुनामा ‘कोभिड–१९’ संक्रमण उत्पन्न गर्ने भाइरस पायौं,’ डा।कर्माचार्यले भने, ‘उक्त दुवै नमुनामा चीनको वुहानमा पाइएको प्रजातिकै भाइरस पाइयो ।’ अनुसन्धानकर्ताहरूले यसको सूचना स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई समेत दिएका छन् । हाल उपत्यकामा व्यापक स्क्रिनिङको आवश्यकता देखिएको छ । लक्षणविहीन कोरोनाको संक्रमण (एसिम्प्टोम्याटिक) भएकाहरू राजधानीमा हुन सक्ने विज्ञहरूले बताएका छन् ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्