बसाइँसराइले रित्तिँदै गाउँ



नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका–१, डेढगाउँ यो क्षेत्रका लागि सहर हो । राष्ट्रिय प्रसारणको लाइन नपुगे पनि वैकल्पिक ऊर्जाले गाउँ झिलिमिली छ । गाउँमै सरकारी र बोर्डिङ स्कुल सञ्चालित छन् । सञ्चार सुविधाको कमी छैन । स्वास्थ्य चौकी नजिकै छ । बौदीखोलाबाट ल्याइएको पानीको नहरले जहाँतहीँ सिँचाइ हुन्छ ।

पिउने पानी छ्यालब्याल छ । अझ अजङ पहरा छिचोल्दै गाउँमै पुगेको कालीगण्डकी कोरिडोरले सजिलैसँग गाउँ र सहरलाई जोडेपछि यहाँका बासिन्दाको जीवनशैली नै परिवर्तन गराएको छ । सबैभन्दा राम्रो त गाउँको हावापानी छ अनि विषादीमुक्त फलफूल र तरकारी ।

त्यही कालीगण्डकी कोरिडोरको छेवैमा रहेको राजकुमार श्रेष्ठको तीनतले परम्परागत शैलीको घर हेर्दा निक्कै आकर्षक देखिने गरी बनाइएको थियो । वरिपरि काठैकाठको बार्दली, टायलको छाना, झट्ट हेर्दा कुनै पुराना साहुमहाजन अथवा प्रधानपञ्चको झल्को दिने यो घर अहिले निक्कै टिठलाग्दो देखिन्छ । वरिपरि घाँस उम्रेको छ । काठ मक्किइसकेका छन् । छानाबाट पानी चुहिन थालेको छ । चुहिएको पानीले सेतो कमेरो र रातो माटोको रङ नै बदलिदिएको छ ।

बसाइँसराइको प्रभावमा परेको यो एउटा नमुना घर हो । गाउँमा अरू पनि यस्ता धेरै घर छन् । कतिपय त भत्किन लागेकाले टेको लगाएर अड्याइएको छ । यहाँका मानिस थप सेवासुविधा खोज्दै गाउँबाट सहर झरिरहेका छन् । राजकुमार श्रेष्ठको घरैअगाडि लक्ष्मी सारूले चटपटे र पानीपुरीको व्यापार गरिरहनुभएको छ ।

कोरिडोरले गाडी र मोटरसाइकलमा हिँड्नेको चहलपहल बढेपछि उहाँको चटपटे र पानीपुरीको सानो व्यापारले पनि गाउँमै आनन्द दिएको छ । लक्ष्मीका अनुसार राजकुमारका श्रीमान्श्रीमती पूर्वपश्चिम राजमार्गले छोएको जिल्लाकै गैँडाकोट झरेका छन् भने छोराबुहारी थप सुखसुविधा खोज्दै पोखरा पुगेका छन् । प्युठान, अर्घाखाँची, बागलुङ, स्याङ्जा, पर्वतलगायतका पहाडी जिल्लाबाट बसाइँ सरेर मानिस तराईको जिल्ला अर्थात् भित्री मधेश नवलपुर आउने क्रम जारी छ तर नवलपुरकै पहाडी पालिकाबाट समेत थप सेवासुविधा खोज्दै सहर झर्न थालेपछि गाउँ बिरानो बन्दै गएको छ ।

गाउँमा विकास थपिँदै गए पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएको र ग्रामीण बस्ती पातलिन थालेको स्थानीय पुराना शिक्षक एवं पूर्ववडाध्यक्ष बालप्रसाद ठाडामगरले बताउनुभयो । यसले गर्दा जनसङ्ख्या वृद्धिदरसमेत ऋणात्मक हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

पछिल्लो एक वर्षमा सबैभन्दा धेरै बौदीकाली गाउँपालिकाबाट बसाइँ सरेका छन् । बौदीकालीबाट चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म एक हजार ४९७ जनाले पालिकामा दर्ता गराएर गाउँ छोडेको पञ्जीकरण कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यस्तै हुप्सेकोटबाट एक हजार ५७ र बुलिङटारबाट ४९७ जना बसाइँ सरेर अन्यत्र गएका छन् तर गाउँ छोडेर गए पनि अधिकांशले बसाइँसराइ नै नलगेका पालिकाले जनाएका छन्, जसले गर्दा गाउँ छोड्नेको सङ्ख्या अझ धेरै हुने अनुमान गर्न सकिन्छ ।

बसाइँसराइको प्रत्यक्ष प्रभाव गाउँका सरकारी विद्यालयमा देखिएको छ, जहाँ हरेक वर्ष भर्ना हुने विद्यार्थीको सङ्ख्या घटिरहेको छ । बुलिङटार–३ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद बस्ताकोटीले यस वर्ष झन्डै एक सय जना विद्यार्थी घट्ने अनुमान गर्नुभयो ।

उहाँका अनुसार सहरीकरणले अभिभावक बसाइँ सर्ने क्रम बढेको छ । विशेष गरी वैदेशिक रोजगारीमा जानेको आर्थिक अवस्था केही बलियो भएपछि बसाइँ सर्छन् । छोराछोरी लिएर डेरा गरेर भए पनि सहरमा नै बस्छन् । जसले गर्दा हरेक वर्ष विद्यार्थी सङ्ख्या घटिरहेको छ । यो शैक्षिक सत्रमा झन्डै एक सय विद्यार्थी घट्ने अनुमान छ ।

यसले गर्दा सरकारी विद्यालयमा विद्यार्थी भर्ना भए पनि टिकाउनै मुस्किल परेको प्रअ बस्ताकोटीले बताउनुभयो । समाजशास्त्री एवं मध्यबिन्दु बहुमुखी क्याम्पस, कावासोतीका प्राध्यापक करुण लम्सालका अनुसार बालबालिकाको शिक्षादीक्षाका साथै भौतिक सुखसुविधा र देखासिकीका कारण पनि बसाइँसराइ बढ्दै गएको छ । समाजशास्त्री लम्सालले भन्नुभयो, “श्रीमान् पासपोर्ट बनाउन सदरमुकाम आउनेबित्तिकै श्रीमती पनि सँगै आएर डेरा खोज्न थाल्छन् । यसले गर्दा पहाडको जनघनत्व घट्दो क्रममा छ ।”

पहाडको जनसङ्ख्या घट्दै जाँदा सहरमा भने चाप बढ्दै गएको छ । “राज्यले लगानी गरेर गाउँ गाउँमा बाटो पुर्‍याएको छ, विद्यालय र स्वास्थ्य चौकीका संरचना निर्माण गरेको छ, लम्सालले भन्नुभयो, “तर बसाइँसराइले प्रयोग गर्नेको सङ्ख्या घट्दै जाँदा ती संरचना उपभोगविहीन हुने अवस्था आएको छ भने तराई र सहरमा जनघनत्व बढ्दै जाँदा सेवासुविधाबाट वञ्चित हुने खतरा उत्पन्न भएको छ ।” आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्