राजेश हमाल ‘प्रेमगीत ३’



काठमाडौं : नायक राजेश हमालको निकै आश गरिएका दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’ नचले पछि, उनी करीब २ वर्ष देखि काँचको पर्दाबाट टाढा छन् । दुई फिल्मको असफलता पछि उनी फिल्म छनोटमा केही संयमित बनेका छन् । उनले फिल्मको स्क्रिप्ट पढिरहेको भएता पनि अब केही फरक फिल्मबाट कमब्याक गर्ने उनको सोच रहेको छ । हमाल आफैं पनि चाँडै फिल्म निर्माण र निर्देशनमा लाग्ने तयारीमा छन् । 

यसबीच, उनी एक चर्चित फिल्मको सिरिजमा अनुबन्ध भएको खबर आइरहेको छ । सन्तोष सेनले निर्माण गर्ने फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिजमा हमाल पिताको भूमिकामा फाइनल भएको खबर आइरहेको छ ।  फिल्ममा उनी अभिनेता प्रदीप खड्काको पिताको भूमिकामा देखिने भएका छन् । यसअघि पनि उनले थुप्रै फिल्ममा पिता र दाईको भूमिका निभाइ सकेका छन् । उनको भूमिका पिताको भएता पनि पावरफुल भएकाले हमालले यो फिल्म साइन गरेका छन् । हमाल फिल्ममा अनुबन्ध भएको कुरा भने निर्माता सेनले बताउन चाहेनन् । उनले छलफलकै क्रममा रहेको जनाएका छन् । 

तर, केही दिन अगाडि मात्र नायक हमाल र निर्माता सेन बीच कागजी सम्झौता भइसकेको स्रोतले जनाएको छ । ‘प्रेमगीत’ को पहिलो पार्टलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका थिए । दोस्रो पार्टका निर्देशक रामशरण पाठकले गरेका थिए । अब तेस्रो पार्टलाई ‘डमरुको डण्डीवियो’ फेम्ड निर्देशक छेतन गुरुङले निर्देशन गर्ने भएका छन् । यस फिल्मको छायांकन दशैंको आसपासबाट सुरु हुनेछ ।      

 

प्रतिक्रिया दिनुहोस्