मानवता विरोधी अपराधका दोषीलाई दण्डित गर्न डा. केसीको माग 



काठमाण्डौ : स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि लामो समयदेखि आन्दोलनरत प्रा.डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माफियाको वफादार बनेको आरोप लगाएका छन् । 

बिहीबार सात बुँदै वक्तव्य निकाल्दै केसीले स्वास्थ्य र शिक्षा क्षेत्रका समस्या समाधान गर्नुको साटो प्रम ओली र उनी नेतृत्वको सरकार माफिया, दलाल र भ्रष्टहरुको वफादार बनेको आरोप लगाएका हुन् । 

डा केसीले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, विपन्न नागरिकले सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारका लागि आफू संघर्षमै रहेको बताउँदै यसलाई निरन्तरता दिने पनि उल्लेख गरेका छन् । 

प्रा. डा. गोविन्द केसीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग पुनगर्ठन गर्न  पनि माग गरेका छन् । आयोगमा पीडितको विश्वास वितेका विज्ञहरुलाई नियुक्त गर्नुपर्ने उनको माग छ । 

द्वन्द्वकालका जघन्य तथा मानवता विरोधी अपराधका दोषीलाई अन्तराष्ट्रिय कानुन अनुसार  दण्डित हुने सुनिश्चित गर्नुपर्ने उनको माग छ । ८७ लाख घुसकाण्डमा मुछिएका अख्तियारका सदस्य राजनारायण पाठकबारे आफूले पहिले नै प्रश्न उठाएको पनि उनले बताएका छन् । 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यापछि न्यायका लागि सिंगो देश आन्दोलित हुँदा पनि सरकार आँखा चिम्लेर बसेको आरोप केसीले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्