बैतडीको झुलाघाट नाका ३ दिनका लागि खुल्दै



बैतडीः बैतडीको झुलाघाट नाका आज (बुधबार)देखि ३ दिनका लागि खुल्ने भएको छ ।

भारतसँग सीमा जोडिएको नाका स्थानीय प्रशासनको समन्वयमा ३ दिनका लागि खुल्ला गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार बुधबार बिहान ९ बजेदेखि नाका खुला हुने छ ।

कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमतीमा नाका खुल्ला हुन लागेको छ ।

सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

पेन्सन बुझ्ने एक दिनमा १ सय जनालाई मात्रै भारत पस्न दिने भएको छ । त्यसका लागि ज्येष्ठताका आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था रहेको छ भने नाकाबाट फर्कन चहानेलाई सामान्य चेकजाँच गरेर स्वदेश फर्काइने भएको छ ।

सीमा नाकामा २ सय जति नागरिक रहेको अनुमान गरिएको छ । सरकारले झुलाघाट नाकालाई स्वदेश भित्रिनका लागि आधिकारिक नाका तोकेको भए पनि भारत सहमत नहुँदा गत महिनादेखि खुल्न सकेको थिएन ।

लामो प्रयासपछि झुलाघाट नाका खुल्ला भएको हो । करीब २ हजारभन्दा बढी नागरिकले सो नाकाबाट पेन्सन बुझ्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्