सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षको अबरोधकाबीच प्रदेश सभाको बैठक जारी



धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट पारित गर्ने तयारी गरेको छ ।

बुधबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकबाट बजेट पारित गर्ने तयारी सत्तापक्षले गरे पनि प्रतिपक्षको अबरोधकाबीच बैठक जारी छ ।

बिहान ८ बजे बसेको प्रदेश सभा बैठकबाट बजेट पारित गर्ने तयारी भए पनि सत्ता पक्षका एक–दुई जना प्रदेश सभा सदस्यले बोल्न बाँकी रहेकाले दिउँसो २ बजे पारित गर्ने कार्य सुचि रहेको रहेको थियो ।

तर प्रतिपक्षी दलको नाराबाजीकाबीच छैठौँ अधिवेशनको २३ औँ बैठक सञ्चालन भएको छ । सभामुख अर्जुनबहादुर थापाले २३ औँ बैठकको कारवाही अगाडि बढाउन साथ प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यहरु रोष्ट्रम अगाडि नाराबाजी गरेका थिए ।

रोष्ट्रम घेराउ गर्दै नाराबाजी भैरहे पनि सभामुख थापाले आर्थिक बर्ष २०७७-७८ को अर्थ सम्बन्धि व्यवस्थालाई कार्यान्वयन गर्न बनेको बिधेयक, सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र बिनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथिको कारवाही सुरु गरेका हुन् ।

उनले आर्थिक मामिला तथा योजना मन्त्री झपट वहादुर बोहरालाई दुबै विधेयकमाथि सभामा छलफल गर्न प्रस्ताव पेश गर्न अनुमती दिए, सभामुखको अनुमतीपछि मन्त्री बोहराले उक्त प्रस्ताव सभामा पेश गरे ।

उनले प्रस्ताव पेश गरेपछि सभामुख थापाले जंगिदै भने,‘मान्य सदस्यहरु तपाईहरुले आफ्ना कुरा राख्दा खेरी सभामुखलाई सम्बोधन गरेर गर्नुहोला । म यहाँहरुलाई जानकारी गराउन चाहन्छु की तपाईहरुले प्रस्तुत गर्दा खेरी सभामुखलाई सम्बोधन हुने गरी बोल्नुस् ।’

अघिल्लो बैठकमा सत्तापक्षका प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले विरोध गर्न पाउने कुरा जायज भए पनि सभामुखतर्फ पिठ्यूँ फर्काएर विरोध गर्न नपाइने भन्दै नियमापत्ति गरेका थिए । असार २१ गतेको बैठकमा प्रतिपक्षी दलको अवरोधका बीच आर्थिक वर्ष २०७७–७८ को बजेट कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरिएको थियो ।

प्रदेश सभामा (कोभिड-१९) को संक्रमण भयावह बन्दै जाँदा पनि यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गरिएकामा सरकारले यी मागको सुनुवाई नगरेर बहुमतको दम्भ देखाउँदा समस्या देखिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले आरोप लागए ।

प्रतिपक्षीले राखेका माग सुनुवाई गर्न पूर्ण प्रतिबद्धता नगरिएसम्म बैठकमा आफूहरुको विरोध जारी रहने बताए । गत असार १० गते देखि सदनमा अवरोधसँगै बैठक स्थगित छ ।

मागको सुनुवाई गरी प्रदेशसभा बैठकलाई पुनः सञ्चालन गराउन सरकार र प्रतिपक्षी दलका सदस्यबीच पटक-पटक वार्ता भए पनि आजसम्म निष्कर्ष निस्केको छैन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३९, प्रतिपक्षी नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्