शिक्षकहरुको पेशागत क्षमता विकासका लागि अनलाइनमा आधारित तिन दिने तालिम सुरु



जनकपुरधामः धनुषाको नगराईन नगरपालिकाले शिक्षकहरुको पेशागत क्षमता विकासका लागि अनलाइनमा आधारित तिन दिने तालिम सञ्चालन गरेको छ ।

विश्वव्यापी कोरोना भाइरसको महामारी र बन्दाबन्दीको अवस्थामा नगरपालिकाले शिक्षकहरुलाई तिन दिने अनलाइन तालिम सञ्चालन गरेको हो । नगराईन नगरपालिकाको सहयोगमा आज (बुधवार) देखि शिक्षकहरुलाई पेशागत क्षमता विकासका लागि अनलाइनमा आधारित तालिम सुरु गरिएको छ ।

तालिमको उदघाटन गर्दै नगराईन नगरपालिकाका मेयर परमेश्वर यादवले शिक्षक भनेको सिकाइ हस्तान्तरण गर्ने माध्यम भएकोले सबभन्दा पहिले शिक्षकहरु सिकाइमा अब्बल हुनुपर्ने आवश्यकता रहेको बताए ।

पहिलो चरण अन्तर्गत पालिकाको १५ वटा विद्यालयका ३० जना शिक्षकहरुलाई तालिममा सहभागी गराइएको छ । लकडाउको समयमा अनलाइन कक्षा कसरी सञ्चालन गर्ने, अध्ययनरत विद्यार्थीलाई विषयगत रुपमा कुनै समस्या भए शिक्षकले अनलाइनको माध्यमबाट कसरी समस्या समाधान गर्ने भन्ने बिषयलाई केन्द्रित गरेर प्रशिक्षक सुनिल मल्लिकले पहिलो दिन तालिम दिएका छन ।

लकडाउनका कारण विद्यालयहरु बन्द रहेको समयमा वेवसाइट र बिभिन्न एपको प्रयोग गर्ने विषयमा मल्लिकले उपस्थित ३० जना शिक्षक शिक्षिकालाई जानकारी गराएका छन । उनले सामाजिक सञ्जालको महत्व तथा विभिन्न प्रकारका र विभिन्न उद्देश्यले निर्मित सफ्टवेयर तथा एपहरुबारे जानकारी दिनुका साथै शिक्षण सिकाईमा प्रयोगबारे छलफल समेत गरेका छन् ।

लोकसमाज नामक संस्थाको आयोजनामा नगराईनस्थित राजेश्वर निधि माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरिएको छ । आजदेखि सुरु भएको ३ दिने तालिम असार २६ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै दोश्रो चरणमा १५ विद्यालयका ३० जना छात्र छात्रालाई समेत यस्तै तालिममा सहभागी गराउने शिक्षक शैलेन्द्र मल्लिकले जानकारी दिए ।

दोश्रो चरणमा विद्यार्थीलाई असार २७ , २८ र २९ गते प्रशिक्षण दिइनेछ । तालिमका प्रशिक्षकहरुमा परमेन्द्र निधि, सुनिल मल्लिक र शिक्षा संयोजक देवेन्द्र लाभ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्