थ्री स्टारलाई हराउँदै आयोजक झापा–११ फाइनलमा 



काठमाडौं : आयोजक झापा–११ चौंथो संस्करणको झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो।

निर्धारित र १५ मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापाका पुजन उपरकोटी, देवेन्द्र तामाङ र दिनेश थापामगरले गोल गरे । कर्ण लिम्बु र हेमन गुरुङले प्रहार भने थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए ।

यता, थ्री स्टारका रन्जित धिमालले मात्रै गोल गरे । बुद्ध लिम्बु, रुपेश केसी र मिक्चेन तामाङले पेनाल्टीमा गोल गर्न सकेनन् । बुद्धको प्रहार झापाका गोलरक्षक दिनेश थापामगरले रोक्दा रुपेश र मिक्चेनको प्रहार बाहिरिएको थियो ।

अब झापाले उपाधिका लागि क्यामरुनी क्लब दाउफिन्स र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । नेप्लिज एकेडेमी हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै झापा र नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–० ले पराजित गर्दै थ्री स्टारले सेमिफाइनलमा स्थान पक्का गरेका थियो । 

फागुन २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यस्तै विधागत उत्कृष्टअन्तर्गत गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले २१ हजार तथा सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। म्यान अफ दी म्याचले नगद १५ हजार रुपैयाँ पाउने छन्। सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्