सन्दीपको भिसाका लागि दबाब अभियान सुरु 



काठमाडौँ । अमेरिकामा क्रिकेटको विकासको लागि वकालत गर्दै आएको साथी बाल्टिमोर नामक नाफारहित सङ्गठनले क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाका लागि एक अभियान सुरु गरेको छ । नेपाल स्थित अमेरिकी राजदूतावासले बुधवार लामिछानेलाई भिसा दिनबाट अस्वीकार गरेपछि साथी बाल्टिमोरले दबाब दिने अभियान सुरु गरेको हो ।

साथी बाल्टिमोरले यस अभियानमार्फत सन्दीपको भिसाका लागि दबाब दिन मेरिल्याण्ड राज्यका सिनेटरसँग सम्पर्क राख्ने प्रयास समेत गरिरहेको छ ।

“हामी, अधोहस्ताक्षर, सन्दीप लामिछानेलाई टि-२० विश्वकपमा सहभागितालाई सक्षम पार्न अमेरिकाको भिसा प्रदान गर्न सम्बन्धित अधिकारीहरूलाई सम्मानपूर्वक आग्रह गर्दछौँ”, साथी बाल्टिमोरको विज्ञप्तिमा लेखिएको छ ।

“सन्दीप लामिछानेलाई टी–२० विश्वकपमा सहभागी हुन नदिने विश्व क्रिकेट समुदायको अपमान हो”, विज्ञप्तिमा थप उल्लेख गरिएको छ । “सन्दीपलाई भिसा दिनु खेलकुद, निष्पक्ष खेल र विश्वव्यापी क्रिकेटको प्रवर्द्धनका मूल्यहरूसँग पङ्क्तिबद्ध हुन्छ भन्ने हाम्रो विश्वास छ । त्यसैले सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिन हामी अधिकारीहरूलाई सम्मानपूर्वक अनुरोध गर्दछौँ ।”

बुधवार सन्दीप लामिछानेको अमेरिकी भिसा नेपाल स्थित अमेरिकी राजदूतावासले दिन अस्वीकार गरेको थियो । आफ्नो सामाजिक सञ्जाल मार्फत विश्वकप खेलमा जाने तयारीमा रहेका सन्दीपले अमेरिकी दुतावासद्वारा आफ्नो भिसा अस्वीकार भएको कुराको जानकारी दिएका थिए ।

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट सङ्घले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि खेलाडी परिवर्तनका लागि सहमति दिने जानकारी गराएको थियो ।

तर अमेरिकी दूतावासले भिसा दिन नसकिने बताएको छ । अब उनलाई विश्वकपमा पठाउन सरकारले पहल गर्नुपर्ने क्रिकेट सङ्घका अध्यक्ष चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्