प्रधानमन्त्री ओली र प्रचण्डको छलफल सकियो



काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि छलफल भएको छ ।

पार्टीका देखिएको विवाद समाधानका लागि झण्डै २ घण्टा छलफलपछि बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रचण्ड बाहिरिएका छन् ।

उनीहरुबीच के विषयमा कुराकानी भयो र सहमति भयो वा भएन भन्नेबारेमा खुलाइएको छैन । स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि भएको विवाद अझै समाधान भएको छैन ।

विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।
यसबीचमा दुई अध्यक्षबीच पटक पटक कुराकानी भए पनि सहमति हुन सकेको छैन ।

अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका छन् भने ओलीले दुबै पद नछाड्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्