लभ स्टेसनको ट्रेलरमा प्रेम र वियोग



काठमाडौं : ‘लिलीबिली’बाट रुचाइएको जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको नयाँ चलचित्र ‘लभ स्टेसन’ आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदै छ। चलचित्र लभ स्टेसनको ट्रेलर काठमाडौंको क्युज सिनेमा हलमा एक समारोहबीच सार्वजनिक गरिएको छ।

ट्रेलरअनुसार यो चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रेमसम्बन्धमा अर्का अभिनेता प्रकाश शाह बाधक बनेका छन्। जसिता र प्रकाश बीचको विवाहको तयारी पनि ट्रेलरमा देखाइएको छ। तर, विवाहसँगै प्रदीप र जसिताको प्रेमले कुन रूप लिन्छ, त्यो बुझ्न भने फिल्म नै हेर्नुपर्ने छ।

फिल्ममा कुनै पात्र लामो समयदेखि हराएको र अभिनेता प्रदीप खड्का त्यो पात्रको खोजीमा रहेको पनि ट्रेलरमा देखाइएको छ। अभिनेता प्रदीप खड्काले अग्रज निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा धेरै सिक्न पाएकोे बताएका छन्। आफू र जसिताले पनि यसपटक लभ स्टेसनमा त्यत्तिकै राम्रो काम गरेको यी अभिनेताले जिकिर गरेका छन्।

यसपटक चलचित्र लभ स्टेसनमा आफैंले स्वरांकन गरेकी जसिताले पनि लभ स्टेसनसम्म आइपुग्दा आफ्नो काम अझ परिपक्व भएको प्रतिक्रिया पाएको बताएकी छन्। आफू यो फिल्मबाट थप उत्साहित भएको र आउँदा दिनमा प्रदीपसँगै अरू अभिनेतासँग समेत काम गर्न इच्छुक रहेको यी अभिनेत्रीले बताएकी छन्।

यही चलचित्रबाट खल भूमिकामा डेब्यु गरेका प्रकाश शाहले पनि राम्रो टिम पाएका कारण लभ स्टेसनमा आफूले खुलेर काम गर्न पाएको अुनभव सुनाए। अग्रज अभिनेता रमेश बुढाथोकीले पनि फिल्ममा अभिनेता प्रदीप र अभिनेत्री जसिताको कामको प्रशंसा गर्दै समग्र टिमले यसमा राम्रो काम गर्न सकेका छौं भने।

लभ स्टेसनका निर्देशक उज्ज्वल घिमिरेले नयाँ पुस्तालाई लक्षित गरेर आफूहरूले समकालीन पुस्ताका लागि फिल्म तयार गरेको बताए। वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले त बलिउडका उत्कृष्ट लभ स्टोरी फिल्मकै लेभलको चलचित्र लभ स्टेसन बनेको बताए। यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले आफ्नो होम प्रोडक्सन काफिया फिल्म्स्ले लभ स्टेसनलाई राम्रो बनाउन कुनै कम्प्रोमाइज नगरेको बताए।

चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ। काफिया फिल्म्स्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले लभ स्टेसन निर्माण गरेका हुन्। आलोक शुक्लाको छायांकन रहेको लभ स्टेसनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ।

प्रतिक्रिया दिनुहोस्