प्रहरीले न्याय नदिएपछि पीडित पक्षद्धारा पत्रकार सम्मेलन गरी न्यायको गुहार



वीरगन्ज: वीरगन्ज मोहन वर्णवालले आफू पिडित भएपनि पर्सा प्रहरीले थप पिडा दिई आफू माथि अन्याय गरेको आरोप लगाएका छन् । वीरगन्ज १६ मिथिलानगर निवासी मोहन र अनिता वर्णवाल दम्पतीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरीले न्याय नदिएपछि न्यायको गुहार पत्रकार समक्ष गरेका हुन । 

छोराको सम्बन्ध विच्छेद भईसकेको ससुराली पक्षले गत आईतबार आफ्ना घरमा आई आगजनि र निर्घात कुटपिट गरेपनि आरोपीलाई कडा कारवाही गर्नुको साटो उल्टै आफनो छोरालाई फसाउने षडयन्त्र गरेको आरोप वर्णवाल दम्पतीको छ ।

घरभित्रै पसेर तोडफोड र आगजनी गर्दै कुटपिट गर्नेहरुलाइ कार्वाहीको माग गर्दै प्रहरी कार्यालयमा जाहेरी दिन जाँदा प्रहरीले उल्टै आफनो छोरालाइ पक्रेर थुनामा राखेको मोहनले बताए । मोहन वर्णवालका अनुसार, उनका छोरा राजेश कुमार वर्णवालको भारतको बेतियाकी मोनी वर्णवालसँग २०६९ साल मंसिर २२  गते परम्परागत मागी विवाह भएको थियो ।

तर केहि समय पछि पति पत्नि बिच विवाद भएपछि पति राजेशले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले २०७४ साल जेठ ९ गते दुवै बिच सम्बन्ध विच्छेदको फैसला गरेको थियो । मोनीसंगको सम्बन्ध विच्छेद भएपछि राजेशले गत माघ २५ गते भारतको उत्तरप्रदेशको मधुवनकी तान्या वर्णवालसंग दोश्रो विवाह गरेका थिए । 

राजेशले दोश्रो विहे गरेपछि त्यसैको निहुमा, अदालतबाट छोरासंग सम्बन्ध विच्छेद भइसकेकी पहिलेकी बुहारी मोनी र उनका दाजु भाइहरुले यहि फागुन १९ गते आइतवार आफनो घरमा आएर आफना परिवारका सदस्यहरुलाइ कुटपिट गर्दै घरभित्र तोडफोड र आगजनी गरेको राजेशका बुबा मोहनले बताए ।

बीर आर २२ पी ९५५६ नम्बरको स्कार्पियो गाडीमा सवार भइ आएका मोनी, उनका दाजुहरु पवन , तनय र वीरगन्ज ६ कुम्हालटोलका प्रमोद वर्णवालले आफु र छोरा राजेशलाइ कुटपिट गरि घाइते पनि बनाएको वर्णवालले बताए । पहिलेकी बुहारी मोनीले रडले आफनो आँखामा घोचेर घाउ बनाइदिएका कारण अहिले पनि मोहनको उपचार चलिरहेको छ ।

 गत आइतवार उनिहरुले आफनो सुत्ने कोठामा तोडफोड गर्दै आगजनी गरेपछि छिमेकीहरुले आएर आगो निभाएको थियो । तोडफोड र आगजनी गरेपछि पहिलेकी बुहारी मोनीले नगद ७२ हजार रुपैया , सुनको सिक्री , औंठी र टप राखिएको ब्याग पनि लिएर गएको राजेशकी आमा अनिताले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

आइतवारको घटनामा संलग्नहरु विरुद्ध ज्यान मार्ने मुद्धा दर्ता गराउन सोमबार जिल्ला प्रहरी कार्यालयमा जादा प्रहरीले मुद्धा दर्ता गर्न नमानेको भन्दै राजेशका बुबा मोहनले उल्टै प्रहरीले आफनो छोरा राजेशलाइ गत मंगलवार पक्राउ गरेर बहुविवाहको मुद्धा दर्ता गरेर थुनामा राखेको गुनासो गरे  । घरमा आगजनी ,तोडफोड र कुटपिट गर्नेहरु विरुद्ध मुद्धा दर्ता नगरि प्रहरीले अदालतबाट पहिलेकी पत्निसंग सम्बन्ध विच्ेछद गराइसकेका छोरा राजेशलाइ पक्रेर बहुविवाहको मुद्धा दर्ता गरेको बुबा मोहनले बताए । मुद्धा दर्ता गराउन जादा प्रहरीले मिलापत्रको लागि दबाब दिएको आरोप पनि उनले लगाए ।

मोहनको घरमा तोडफोड , आगजनी र कुटपिट गर्ने मध्येका तीन जना  मोनीकाका दाजुहरु पवन र तनय तथा प्रमोदलाइ भने प्रहरीले घटना भएकै दिन आइतवार नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्धा दर्ता गरिसकेको छ । उनिहरु सवार भइ आएको स्कार्पियो गाडी पनि प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले भने जिल्ल अदालतले गरेको सम्बन्ध विच्छेदको फैसला प्रति असन्तुष्टि जनाउदै मोनीले उच्च अदालतमा पुनरावेदन गरेको र उक्त मुद्धा उच्च अदालतमा विचाराधीन रहेकाले मोनीकै उजुरीका आधारमा राजेशलाइ नियन्त्रणमा लिएर बहुविवाहको मुद्धा चलाइएको बताए ।

सरकारी वकिलको कार्यालयकै सल्लाहमा राजेश विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरि अदालतमा म्याद थप गराएर अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले कुनै पनि पक्षलाइ मिलापत्रको दबाब नदिएको पनि जिकिर उनले गरे  । 

 

प्रतिक्रिया दिनुहोस्