जनतालाई मुर्ख नबनाई काम गर्नुस् : प्रधानमन्त्री ओली



राैतहट : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को सरकारलाई जनताका पक्षमा काम गर्न आग्रह गरेका छन् । रौतहटको गरुडामा भएको वृहत आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेशवादी दललाई प्रदेश २ मा जनताले अवसर दिएकाले त्यही अनुरुप काम गर्न सुझाव दिए । ओलीले भने, ‘जनताका भावना अनुरुप काम गर्नुस्।’ प्रधानमन्त्री ओलीले जनतालाई मूर्ख नबनाउँन र जनताको भावना अनुकूल काम गर्न राजपा र फोरम सम्मिलित सरकारलाई आग्रह गरे ।

ओलीले जनताको अभिमतको मूलधारमा सीके राउत पनि आएको बताए । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई जनताले दुई तिहाई मत दिएकाले जनताको सपना पुरा गर्ने बताए । सरकारको कामका बारे बोल्दै प्रधामन्त्री ओलीले मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षा लागू गर्न सरकार लागेको स्पष्ट पारे। ओलीले लाल बकैया नदीमा पक्की पुल र बाँध बनाउँन छिट्टै नै काम सुरु गरिने जानकारी गराए ।

भारतीय सीमामा बाध बाँधेको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरिसकेको र हाल सर्वेको कार्य भइरहेको ओलीले जानकारी दिए । तीन अर्ब ५२ करोडको योजना तराई मधेशमा लागू गर्न सरकारले काम थालेको ओलीले बताए । प्रदेश २ सरकारले थालेको बेटी पढाऊँ, बेटी बचाऊ अभियानको ओलीले प्रशंसा गरे। उनले पूर्व–पश्चिम विद्युतीय रेल्वेको काम सुरु भइसकेको भन्दै चाडौं जनकपुर–बर्दिबासमा रेल संचालन हुने दाबी गरे।

हुलाकी राजमार्ग अर्को चुवान अगाडि नै बनिसक्ने भन्दै ओलीले भने, ‘ढुक हुनुस् हुलाकी राजमार्ग अर्को चुनाव आउनु अगाडि नै बन्छ ।’ त्यस्तै चद्रनिगाहपुरसम्म चार लेनको बाटो, खानेपानीको व्यवस्थापन र आधुनिक कृषि अभियानले पनि सार्थकता पाउने ओलीले बताए । ओलीले ४६ वर्ष अगाडि भूमिगत जीवन आफूले यही बिताएको स्मरण गर्दै स्थानीय नेताहरूको नाम समेत उल्लेख गरेका थिए । 

अन्धविश्वास, कुरीति अब सहन नसकिने बताउँदै प्रधानमन्त्रीले भने, “बोक्सी लाग्ने भए चुनावमा अरुलाई हराएर बोक्सीले चुनाव जितिहाल्थे नि । लु मलाई कसैले बोक्सी लागेर देखाओस् त !” कार्यक्रमलाई वरिष्ठ नेता माधवकुमार नेपालले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्