पहिरोले घर पुर्दा आमा छोराको मृत्यु, छोरी घाइते



रुकुमः पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिका–३ रेझेखोलामा शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका दुई जनाको मृत्यु भएको हो ।

पहिरोले तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी पत्नी २८ वर्षीया सीता र ६ वर्षीय छोरा हाविलको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

पहिरोमा परी उनकी ८ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक केसीको भनाइ छ । तुलबहादुर भने कामको सिलसिलामा घर बाहिर थिए ।

इलाका प्रहरी कार्यालय आठबिसकोटबाट थप उद्धारका लागि प्रहरी निरीक्षक अच्युतराज आचार्यको कमाण्डमा २ जनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्