अयोध्या र रामबारे ओलीको दाबीपछि भारत-नेपालमै तरंग, भाजपाले दियो यस्तो प्रतिक्रिया



काठमाडौं : नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि देशभित्र र बाहिर चर्को आलोचना भएको छ।

सोमवार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले नेपाल सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको भन्ने टिप्पणी गरेका थिए।

सत्तारूढ भारतीय जनता पार्टीका प्रवक्ता विजय शोनकर शास्त्रीले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको निन्दा गरेका छन्।

उनले भने,’ भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही ।’

भारतीय समाचार संस्था आइएएनएसले ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर उल्लेख गरेको छ। नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको ओलीको अभिव्यक्तिलाई देशभित्रै मानिसहरूले विश्वास नगरिरहेको भनेर उसले लेखेको छ।

यता देशभित्रै कतिपयले सीमा विवादका कारण छिमेकी भारतसँगको सम्बन्ध चिसिएको बेला ओलीको यो टिप्पणीले दुई देशको सम्बन्ध सुधार्नमा सघाउ नपुग्ने चिन्ता समेत व्यक्त गरेको पाइन्छ । सामाजिक सञ्जालमा केही थोरैले उनको टिप्पणीको समर्थन गरेको पनि देखिन्छ भने केहीले प्रधानमन्त्रीको भनाइप्रति व्यङ्ग्य पनि गरेका छन्।

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ओलीको भनाईबारे व्यङ्ग्य गर्दै ‘आधी-कवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं१ सिधै बैकुण्ठधामको यात्रा गरौं!’ भन्दै ट्विट गरेका छन्।

उनले अर्को ट्वीट गर्दै भनेका छन्, ‘अति गरे खति हुन्छ भन्छन् प्रमका वचन र कर्मले सीमा नाघ्दैछन् । स‌ंसदमा ‘सिंहमेव जयते’र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा वहाँको चिन्तन प्रणाली स्वस्थ देखिन्न! संसद स्थगन गरेर अध्यादेश र संकटकालको‘ खड्ग’समेत उहाँको हातमा छ । अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ!उपचार खोजौं !’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो प्रकरणले नेपाल भारतबीच थप विवाद सिर्जना गर्नेतर्फ प्रधानमन्त्रीको ध्यान गएको जस्तो नदेखिएको भन्दै ट्विट गरेका छन्।
उनले भने, ‘प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन ।’

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले ट्विट गर्दै लेखेका छन्, ‘धर्म राजनीति र कूटनीतिभन्दा माथि छ। यो निकै भावनात्मक विषय हो। बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ। अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ ?’

ओलीको भनाइप्रति आश्चर्य व्यक्त गर्दै ट्विट गर्नेमा उनकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याल लेखेका छन्, ‘योे के बोलेको ? कि भारतको टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको ?’

यस्तै नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले समेत ओलीबाट ‘एकपछि अर्को’ यस्तो अभिव्यक्ति आउनु ‘रहस्यमय’ रहेको ट्विट गरेका छन्।

उनले लेखेका छन्,’पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ ।अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ।’

यस्तै काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा छाट्न ब्यस्त भएको आरोप लगाएको ।

उनले ट्वीटमा लेखेका छन्, ‘नक्सा सार्वजनिक गरिसकेपछि कुटनैतिक पहल गरेर जमिन फिर्ता ल्याउन पहल गर्नु कता हो कता, प्र म ओलीले आफ्नो मर्यादा नै भुलेर उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा छाट्न ब्यस्त हुनुहुन्छ। यो पुर्ण गलत छ्रदुई देश समान हुन भन्ने कुरालाई मन्त्र बनाएर समस्याको समाधान गर्नु प्रमको कर्तव्य हो ।’

प्रतिक्रिया दिनुहोस्