नेकपा अध्यक्षद्वय आज पुनः छलफलमा जुट्दै



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (बुधबार) पुनः छफल हुँदैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो हुने छलफलमा पार्टीभित्रको आन्तरिक विवाद समाधानमा केन्द्रीत हुनेछ ।

आन्तरिक र बाह्य अवस्थाका कारण घेरावन्दीमा परेका प्रधानमन्त्री ओली पार्टीभित्रको सन्तुलन व्यवस्थापन गरेर अघी बढ्ने मनस्थितिमा पुगेका छन् ।

इतिहासकै बलियो शक्ति आर्जन भएर बनेको सरकार सबैभन्दा कमजोर अवस्थामा पुगेका बेला नेकपाका अध्यक्षद्वयबीच पार्टी र सरकारलाई चलायमान बनाउने गरी छलफललाई निष्कर्षमा पुर्याउने तयारी भएको छ ।

आजको छलफलमा पार्टीभित्रको विवाद समाधान र सरकारका काम कारबाही जनमुखी बनाउनेबारे छलफल हुने नेकपाले जनाएको छ । गत मंसिर ४ मा भएको सहमतिलाई थप व्याख्या गरी सचिवालयमा पेश गर्नेबारे दुई अध्यक्षबीच छलफल हुने छ ।

यता सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्याक्रममा बोल्दै भगवान रामचन्द्रको जन्मभूमि नेपाल नै हो र उनी नेपाली हुन भन्ने दिएको अभिव्यक्तिले प्रधानमन्त्री ओली आन्तरिक र बाह्य घेराबन्दीमा परेका छन् ।

मंगलबार अध्यक्षद्वयबीच भएको छलफलमा यो विषयमा प्रवेश पाएनन् । तर, आजको छलफलमा यो विषयबारे छलफल हुने नेकपाले जनाएको छ ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण भारतमा सोमबारदेखि नै निकै ठूलो तरंग पैदा भएको छ ।

यता प्रधानमन्त्री ओली आफ्नै कारणले चौतर्फी दवाव र घेराबन्दीमा परेकै बेला कार्यकारी अध्यक्ष प्रचण्ड हिजो पार्टीको आन्तरिक विषयमा छलफल गर्न भन्दै बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्रीलाई थकित अवस्थामा देखेपछि प्रचण्ड पार्टीको आन्तरिक विषयमा कुरा नगरी खुमलटार फर्केको बुझिएको छ ।

प्रकाशित : असार ३१, २०७७

प्रतिक्रिया दिनुहोस्