प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर जनकपुरमा हिन्दू परिषद नेपालद्वारा विरोध प्रदर्शन



जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर जनकपुरधाममा आज (बुधबार) विरोध प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलीको विवादास्पद अभिव्यक्तिका कारण प्रदर्शन गरिएको हो ।

आदिकवि भानुभक्तको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सीताको विवाह भएको अयोध्या भारत नभई नेपालकै भूभाग पर्साको ठोरीमा रहेको र भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको बताएका थिए । उनको यसै विवादास्पद अभिव्यक्तिलाई लिएर नेपाल तथा भारतमा पनि सर्वत्र विरोध भइरहेको छ ।

आज जनकपुरधाममा हिन्दू परिषद नेपालले प्रधानमन्त्रीले बोलेको शब्द फिर्ता लिनुपर्ने भन्दै चर्को विरोध गरेको हो । हिन्दू परिषद नेपालका जनकपुर नगर कमिटी अध्यक्ष मिथिलेश झाले धर्मको बिषयमा राजनीति गर्न नहुने प्रतिक्रिया दिए । उनले वैदिक र सांस्कृतिक रुपमा प्रधानमन्त्री ओलीले विश्वका करोडौं हिन्दूमाथि सांघातिक हमला गरेको आरोप लगाए ।

No description available.

परिषदले नेपालको राष्ट्रिय झन्डा र हिन्दू परिषदले प्रयोग गर्ने रातो झण्डा लिएर जनकपुरको रामानन्द चोकबाट र्याली सुरु गर्दै नगरको बिभिन्न भागको परिक्रमा पश्चात जनक चोकमा कोणसभा गरेको थियो ।

कोणसभामा परिषदका अध्यक्ष मिथिलेश झा, नागरिक समाजका मुरली मनोहर मिश्रसहितकाले प्रधानमन्त्री ओलीको राम, सीता, अयोध्या र जनकपुरधाम बारेको बेतुकको अभिव्यक्तिले सिंगो राष्ट्रको साख गिरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

रामनन्दीय वैष्णव संघको आपत्ति
यसैबिच श्री रामनन्दीय वैष्णव संघले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ । संघका महासचिव नवल किशोर शरणको हस्ताक्षरसहितको विज्ञप्तीमा भगवान रामको जन्मस्थल भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रहेको र सीताको जन्म मिथिलाको तत्कालीन राजधानी हालको जनकपुरधाममा भएको उल्लेख गरिएको छ ।

No description available.

विज्ञप्तीमा प्रधानमन्त्रीले बोलेको राम जन्म भूमि बारेको अभिव्यक्तिले विश्वका हिन्दूहरुको आस्थामा प्रहार भएको उल्लेख गरिएको छ । उनको यस अभिव्यक्तिले नेपाल र भारतको पुरानो ऐतिहासिक सम्बन्धसमेत प्रभावित भएको र उक्त अभिव्यक्ति प्रधामन्त्रीले फिर्ता लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

जानकी मन्दिरमा बैठक
जानकी मन्दिरले पनि प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिबारेको विषयमा कसरी अगाडि बढने भन्नेबारेमा आज वृहत्त छलफल गरिरहेको छ । मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले आज जनकपुरका नागरिक समाज, साधु समाज, स्थानीय युवा क्लव, पत्रकार लगायतसंग विमर्श गर्न बैठक डाकिएको बताए ।

आजको बैठकले एउटा ठोस निर्णय गरेर आन्दोलनको कार्यक्रम ल्याउन लागेको समेत बताइएको छ ।

प्रकाशित : असार ३१, २०७७

प्रतिक्रिया दिनुहोस्