शिक्षालाई सिप र प्रविधिसँग जोडेर लैजानुपर्छ : टीकाराम पुरी



काठमाणडाै : प्याब्सनको निर्वाचनमा मोरङ विराटनगरको एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल एवं प्याब्सनका वर्तमान सल्लाहकार टीकाराम पुरी र ललितपुरको रेडिएन्ट स्कुलका प्रिन्सिपल एवं वर्तमान वरिष्ठ उपाध्यक्ष डिके ढुंगाना नेतृत्वका समूहबीच प्रतिस्पर्धा हुने भएको छ।

पूर्वउपाध्यक्ष पुरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थित र ढुंगाना नेपाली कांग्रेसनिकट मानिन्छ । पुरी समूहलाई पूर्वअध्यक्ष भोजबहादुर शाह र लक्ष्यबहादुर केसी तथा ढुंगाना समूहलाई पूर्वअध्यक्ष उमेश श्रेष्ठ र राजेश खड्काले समर्थन गर्ने अनुमान छ।

प्याब्सनको १३औं महाधिवेशनमा अध्यक्षमा विजय सम्बाहाम्फेसँग पराजित पुरीले यसपटक एकीकृत वामपन्थी समूहको समर्थन पाएकाले आफ्नो जित सहजै हुनेमा विश्वस्त छन् भने ढुंगानाले अघिल्लो पटक अत्यधिक मतले वरिष्ठ उपाध्यक्ष निर्वाचित भएकाले आफू लोकप्रिय रहेको जिकिर गरेका छन्।

हामीले अध्यक्षका उम्मेदवार टीकाराम पुरीसँग पनि तपाईंको उम्मेदवारी केका लागि भनेर सोधेका छौं।

प्रस्तुत उनको पाँचबुँदे उत्तर :

       १.  सरकारले उच्च शिक्षामा दिने १५ प्रतिशत छात्रवृत्तिमा समान सहभागिताका लागि

       २.  सरकारले प्रदान गर्ने प्राविधिक तथा व्यावसायिक शिक्षामा समान सहभागिताका लागि 

       ३.  कम्पनि ऐनमार्फत सञ्चालित निजी विद्यालयलाई कम्पनिमै राख्ने प्रावधान व्यवस्थाका लागि

       ४.  प्याब्सनको केन्द्रीय कार्यालय भवन निर्माणका लागि 

       ५.  अनिवार्य तथा निःशुल्क शिक्षामा दिनुपर्ने १०, १२ र १५ प्रतिशत छात्रवृत्तिमा समायोजन गर्नका लागि

पुरी विगत २१ वर्षदेखि प्याब्सनको विभिन्न पदमा रहेर काम गरेका छन्। जिल्ला सदस्यदेखि सचिव, अध्यक्ष, पूर्वाञ्चल उपाध्यक्ष, केन्द्रीय उपाध्यक्ष हुँदै केन्द्रीय सल्लाहकारका रुपमा काम गरिसकेका छन्।

शिक्षालाई सिप र प्रविधिसँग जोडेर लैजानुपर्ने उनको बुझाइ छ। निजी विद्यालयमाथि चौतर्फी प्रहार भइरहँदा निजीलाई अझ सशक्त ढंगले समाज रूपान्तरणमा केन्द्रित गर्दै लैजानुपर्ने र निजी क्षेत्रको योगदानबिना जीवनोपयोगी शिक्षाको कल्पना गर्न नसकिने उनको दृष्टिकोण छ। 

प्रतिक्रिया दिनुहोस्